बडादशैँ सुरु, आज घटस्थापना, साइत बिहान ११ः४६ बजे

काठमाडौँ । उल्लासका साथ मनाउने चाड दसैँ शनिबार (आज) देखि सुरु भएको छ । बडादशैँको सुरु दिन शनिबार समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् । पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी भिँगुट माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ ।

घटस्थापनाको साइत बिहान ११ः४६ बजे उत्तम रहेको ज्योतिषीहरुले बताएका छन् । यसैदिनदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्दै नवरात्र मेला आरम्भ भए पनि योपल्ट कोरोना सङ्क्रमणका कारण मुलुकका सबै शक्तिपीठ देवस्थलमा जमघट गर्न र मेला भर्न निषेध गरिएकोले घरघरमै नवरात्र दुर्गा भवानीको आराधना गर्न सरकारले अनुरोध गरेको छ ।

गुठी संस्थानले मुलुकका राजगुठीअन्तर्गत दुुई हजार ३५० देवस्थलमा नित्य पूजा गर्न मात्र भनेको छ । हनुमानढोका दरबारस्थित दशैँघर, फौजी सङ्गठनका कोतघर लगायतमा पनि भीडभाड नगरी घटस्थापना हुने भएको छ ।

दसैं नौ रात र दश दिनको हुन्छ । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने देवीलाई कात्तिक १० गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फुल प्रसाद ग्रहण गरिन्छ।

कात्तिक १० गते देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १०ः १९ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।


प्रकाशित | १ कार्तिक २०७७, शनिबार ०७:०७