सल्यानको विकट गाउँमा बर्थिङ सेन्टर निमार्ण गर्दै एनआरएनए अमेरिका

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको एक एनसिसी एक च्यारिटी प्रोजेक्ट सल्यान जिल्लाको विकट गाउँमा सञ्चालन हुने भएको छ । पोजेक्टअनुसार जिल्लाको कुमाख गाउँपालिका वडा न.१ टाट्केमा एउटा प्रसुति गृह निमार्ण गरिने भएको हो ।

एक एनसिसी एक प्रोजेक्टको जिम्मेवारी पाउँनुभएको एनआरएनए अमेरिकाका उपाध्यक्ष कुष्णजीवी पन्तले प्रोजेक्ट सम्पन्न गर्नको लागि गाँउपालीका र मानव बिकास तथा सामुदायिक सेवा बिच त्रिपक्षीय सम्झौता गर्नुभएको छ ।

उक्त अवसरमा गाउँपालीका अध्यक्ष दिलमाया बुढामगर गिरी, मानव बिकास तथा सामुदायिक सेवाका कार्यकारी निर्देशक कपिल शर्मा, डा. कालेब बुढा, बरिष्ठ इन्जीनियर सुरज दाहाल लगायत स्वास्थ्यकर्मी एवम स्थानीय बासीन्दाहरुको उपस्थिति रहेको थियो ।

सम्झौतामा भवन निर्माण गर्नको लागी आवश्यक पर्ने जग्गा, स्वास्थ्यकर्मी एबं स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपकरण गाउँपालीकाले उपलब्ध गराउने, एनआरएनए अमेरिकाले ४ कोठे भवनको निर्माण गर्ने र उक्त परियोजनाको सम्पूर्ण ब्यवस्थापन मानव बिकास तथा सामुदायिक सेवाले गर्ने उल्लेख गरिएको छ ।

च्यारिटीका संयोजक एवं अमेरिकाका उपाध्यक्ष कृष्णजीवी पन्तले सल्यानको दुर्गम गाउँ जहाँ एउटा प्रसूति गृह स्थापना गर्दा सयौं आमाहरूले आफ्ना सन्तानलाई सुरक्षीत गर्भधारण गर्न सक्नेछन भन्ने उद्देश्यका साथ उक्त परियोजनाको परिकल्पना गरिएको बताउनुभयो ।

उपाध्यक्ष पन्तले भन्नुभयो, ‘कुमाक गाँउपालीका वडा न. १ को डाँडागाउ, भितिवनचौर, नुवागाउ, साधनमुढा, भितिवन आसपासका स्थानका गर्भवती आमाहरूको पीडामा केहि भए पनि मलहम लगाउने हाम्रो प्रयास हो। यस महान अभियानमा सल्लाह , सुझाव तथा सहयोग गरिदिनुहुनको लागी आम गैर आवासीय नेपालीहरुलाई हार्दिक अपील गर्दछु ।’


प्रकाशित | १५ फाल्गुन २०७६, बिहीबार ००:५०