नेपाल–चीन दौत्य सम्बन्धको ६५ वर्ष – एक चीन नीतिप्रति निरन्तर प्रतिबद्धता

काठमाडौँ – नेपाल र छिमेकी मुलुक चीनको मित्रताको ऐतिहासिक कूूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको छ । सन् १९५५ अगस्त १ मा औपचारिक सम्बन्ध सुरुवात भएको कूटनीतिक सम्बन्धले ६५ वर्ष पार गरेसँगै नेपाल–चीन सम्बन्धले नयाँ उचाइ हासिल गरेको छ ।
दुई देश बीचको लामो सम्बन्ध पाँचौँ शताब्दीदेखि विकसित हुँदै अगाडि बढेको हो । दुई देश बीचको सम्बन्ध मित्रता, समझदारी, आपसी समर्थनसँगै शान्ति सह–अस्तित्वका सिद्धान्तको आदर्शमा अटल विश्वास राख्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । जस अनुसार नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ ।

चीनका लागि नेपालका पूर्वराजदूत टङ्क कार्कीले नेपाल–चीन सम्बन्ध मात्र ६५ वर्षको होइन कूटनीतिक सम्बन्धको हिसाबले करिब १४ सय वर्षअघि देखिको हाम्रो सम्बन्ध हो भन्नुभयो ।
चिनियाँ भिक्षु फा सियानकोे यात्राले जनस्तरको सम्बन्ध त्यतिबेलै थियो भन्ने पुष्टि गर्छ । करिब एक हजार छ सय वर्षअघि कपिलवस्तु र लुम्बिनी भ्रमण गरेको क्षण अझै अभूतपूर्व मानिन्छ । १३औँ शताब्दीमा नेपालका कलाकार अरनिको सहितको टोलीले चीनमा नेपालको कला संस्कृतिको प्रचार गरे । नेपाल तथा चीनबीच ११४ वर्षसम्म कोसेली आदानप्रदान भएको इतिहास रहेको पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई बताउनुहुुन्छ ।

नेपालको चीनसँग उत्तरतर्फ एक हजार ४१४ किलोमिटर सिमाना जोडिएको छ । व्यापारिक सम्बन्धतर्फ सन् १८५६ को थापाथली सन्धिअघि ल्हासामा नेपालका वकिल बस्थे । पछि तिब्बत चीनको स्वशासित क्षेत्र भएपछि सन् १९५६ मा तिब्बत सन्धि नेपालसँग भयो । त्यस पश्चात् तिब्बतमा नेपालको महावाणिज्य दूत रहन थालेको हो । आधुनिक सम्बन्ध भूराजनीतिले दर्शाएको सम्बन्ध रहेको पूर्वराजदूत कार्कीको धारणा छ ।

नेपाल र चीनको सम्बन्धलाई इतिहासको एउटा सुखद र असल पक्षका रूपमा लिइन्छ । चीनसँग रोटीबेटीको पुरानो सम्बन्ध छ । सातौं शताब्दीमा लिच्छवि राजकुमारी भृकुटीको विवाह तिब्बतका राजा स्रङचङ गम्पोसँग हुनु एउटा उदाहरण मानिन्छ ।

गएका ६५ वर्षको सम्बन्ध पञ्चशीलको सिद्धान्तका आधारमा रह्यो । अहिले सबैसँग मित्रता, कसैसँग पनि शत्रुता नराख्ने थप नीति तय गरिएको छ । त्यो सिद्धान्तको अक्षर र भावनामा दुवै मुलुक खरो उत्रिएको पूर्वराजदूत कार्की टिप्पणी गर्नुहुन्छ । यस अवधिमा नेपालले चीनलाई सक्दो मद्दत गरेको र चीनले पनि नेपालको हितमा मद्दत गर्दै आएको छ । द्विपक्षीय कूटनीतिक सम्बन्धमा मैत्रीभावसँगै समान हैसियतलाई मुख्य रूपमा प्राथमिकता दिन थालिएको पूर्वराजदूत कार्की बताउनुहुन्छ ।
सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले चीन भ्रमण गर्नुभएपछि दुई देशको सम्बन्धलाई पुनर्परिभाषित गरिएको दाबी कार्कीको छ । सन् २०१५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि जे–जति सन्धि, सम्झौता र समझदारी चीनसँग गरियो त्यसले नेपाल–चीन सम्बन्धलाई नयाँ युगमा रूपान्तरण गरेको उहाँको ठम्याइ छ ।

दुई देशबीच भएका दुई सम्झौताले नेपाल र चीन बीचको रणनीतिक सम्बन्धमा विशेष महìव राख्ने उहाँको धारणा छ । पहिलो यातायात तथा पारवहन सन्धि र अर्को ट्रान्स हिमालयन परियोजना अन्तर्गत नेपालमा रेल्वे सेवा प्रसारण गर्ने सम्झौता हो । अर्कोतर्फ सन् २०१० पछि आएको ठूलो परिवर्तन भनेको चीनले नेपाललाई हेर्ने नयाँ दृष्टिकोण हो । चीन दोस्रो विश्वशक्ति भएको हैसियतले अबको सहयोग हिजोको सीमाभन्दा माथि पुगेको छ ।

नेपालको भावी आर्थिक, सामाजिक विकासका लागि यो सुखद पक्ष हो । नेपाल–चीन बीचको सुमधुर र असल छिमेकी सम्बन्धमा एक अर्काबीच भएका प्रतिबद्धता कार्यान्वयनबाट नै देशव्यापी सम्बन्धको प्रतिफल हासिल हुने विश्वास उहाँको छ ।

सन् १९५२ मा चीनको कुल ग्रार्हस्थ्य उत्पादन करिब ३० अर्ब अमेरिकी डलर मात्र थियो । सन् २०१८ मा अत्यधिक वृद्धि हासिल गर्दै १३६ खर्ब १० अर्ब ग्रार्हस्थ्य उत्पादन पुग्यो । यो बीचमा करिब ७७ करोड जनसङ्ख्या गरिबीको रेखा मुनिबाट निकाल्न सफल बन्यो । विदेशी मुद्रा सञ्चिति, सञ्चार सञ्जाल, आधुनिक आणविक शक्ति, क्वान्टम साइन्स तथा सुपर कम्प्युटर निर्माणमा चीन अघि छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा राष्ट्रपति सी चिनफिङको समन्यायिक आर्थिक विकासको महìव बढेको छ । नेपाल र चीनका राष्ट्रपति, प्रधानमन्त्रीको उच्च स्तरीय भ्रमणपछि सम्बन्धको पुनर्ताजगीसँगै हिमालयन सीमापार, बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) लगायतका परियोजना अन्तर्गत व्यापार बन्दरगाह, बहुपक्षीय सम्पर्क सञ्जालमा सहकार्य अगाडि बढेको छ । चीन नेपालको दोस्रो ठूलो साझेदार हो । त्यसैले प्राथमिकता तोकेर आर्थिक तथा सामाजिक विकासमा सहकार्य गर्नुपर्नेमा पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई जोड दिनुहुन्छ । यो समाचार आजको गोरखापत्र दैनीकमा छ ।


प्रकाशित | १७ श्रावण २०७७, शनिबार ०८:२६

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *