भक्तपुर नेशनल प्याव्सनले क्वारेन्टाइनको लागि कोठा र बस व्यवस्था गराउने

भक्तपुर : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याव्सन ) भक्तपुरले क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने गरी आफ्ना सदस्य विद्यालयहरुको कक्षा कोठा प्रयोग गर्न दिने भएका छन् ।

नेशनल प्याव्सन भक्तपुरले क्यारेन्टाइनको लागि ५ वटा विद्यालय विमल मोमोरियल विद्यापिठ, रत्न शिक्षा सदन, इडेन गार्डेन , सरस्वती सदन र सेन्ट जोन स्कुलका कक्षा कोठा उपलब्ध गराउने साथै आवश्यक यातायातको रुपमा प्रयोग गर्न मदरल्याण्ड स्कुल, क्वालिची स्कुल, पारागन एकेडेमी, साइनिगं स्कुल र प्रसादी पाठशाला गरी ५ वटा विद्यालयको ७ वटा बसको व्यवस्था समेत गर्न सकिने प्रस्ताव महानगरीय प्रहरी परिसर भक्तपुरमा गरी बुझाएको कुरा नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले बताउनुभयो ।

पर्यटनमन्त्री योगेश भट्टराईको संयोजकत्वको कोभिड–१९ विरुद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको आइतबारको बैठकमा प्याब्सन, एनप्याक्सन र हिसानका प्रतिनिधिले आपसी समन्वयमा कम्तीमा दुई हजार व्यक्ति अट्ने होस्टेल र स्कुलको स्थानसहितको विवरण तयार गरी पेस गर्न आग्रह गरिएको थियो । निजी शैक्षिक संस्थाले बुझाएको विवरणअनुसार सरकारी अधिकारीले अनुगमन गरी उपयुक्तलाई छनोट गर्नेछन् ।


प्रकाशित | २८ आश्विन २०७७, बुधबार ०८:२८