समस्याग्रस्त जेट एयरवेजका २२ हजार कर्मचारीको रुवाबासी

एजेन्सी : जेट एरवेजका हजारौ कर्मचारीको रुवाबासी चलेको छ । महिनौंदेखि तलब नपाएपछि भारतीय विमान कम्पनी जेट एरवेजका कर्मचारीले आन्दोलन थालेका छन्। भारतको प्रमुख विमानसेवा कम्पनी जेट एयरवेजले आर्थिक संकटका कारण आफ्ना सबै उडान बन्द गरेपछि सो कम्पनीमा कार्यरत करिब २२ हजार कर्मचारी अहिले बिचल्लीमा परेका छन्। समयमै तलव नपाए पनि कुनै दिन त पाइएला भन्दै काम गरिरहेका उनीहरु अहिले बेरोजगार भएका छन्। बेरोजगार भएपछि अन्तिम विकल्पको लागि उनीहरुले आन्दोलन थालेका हुन्।

परिवारका लागि आवश्यक खर्च कसरी जुटाउने भन्ने चिन्तामा उनीहरू पिरोलिएका छन्। बेरोजगार भएकामध्ये केहीलाई अन्य विमानसेवा कम्पनीले रोजगारीका लागि प्रस्ताव गरे पनि थोरैमात्र तलव दिन सकिने शर्त राखेका छन्। बाँकी कर्मचारीको भविष्य के हुने हो भन्ने अत्तोपत्तो छैन। २६ वर्षदेखि सेवा दिँदै आएको जेट एयरलाइन्स बुधबारदेखि ठप्प भएको हो। भारतमा पछिल्लो पाँच वर्षमा बन्द हुने यो सातौं एयरलाइन्स कम्पनी हो।

बैंकको ऋणमा डुबेपछि जेयर एयरवेज आर्थिक संकटमा फसेको हो। ऋणमा डुबिसकेको कम्पनीलाई थप ऋण दिन कुनै पनि बैंक तयार भएनन्। परिणामस्वरुप दैनिक रुपमा हुने खर्चसमेत धान्न नसकेर कम्पनीले आफ्ना सबै उडान बन्द गरेको हो। एयरलाइन्सको जागिर गुमेपछि एकाएक सडकमा आइपुगेका कर्मचारीले नयाँ दिल्लीमा प्रदर्शनसमेत गरे। उनीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध समेत नाराबाजी गरेका थिए।


प्रकाशित | ६ बैशाख २०७६, शुक्रबार १२:५१