बालुवाटारमा ओली र प्रचण्डबीच वार्ता : स्थायी कमिटी बैठकअगावै समाधान निकालीने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का अध्यक्षद्वयबीच ६ दिनपछि छलफल भएको छ । अध्यक्षद्वयबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा मङ्गलबार करिब डेढ घण्टा लामो छलफल भएको हो । यसअघि गत बुधबार दुई अध्यक्षबीच छलफल भएको थियो ।

प्रधानमन्त्रीलाई भेटन अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुग्नुभएको थियो । साउन २ गतेसम्मका लागि स्थगित गरिएको नेकपा स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच विवादित विषयमा सहमति जुटाउने प्रयासस्वस्प आज वार्ता भएको हो । बैठक भोलि फेरि बस्ने तय गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागीएपछि उत्पन्न विवादले पार्टी फुटको संघारमा पुगिरहेको छ । तर नेताहरुले पार्टी नफुट्ने बताउँदै आएपनि सोमबार मात्र पार्टीका वरिष्ठ नेता झलनाथ खनालले ओली पाँच वर्षसम्म प्रधानमन्त्री रहीरहे नेकपा समाप्त हुने भन्दै प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने अडान दोहोर्याएपछि पार्टीभित्रको विवाद झनै चर्किएको देखिन्छ । तर प्रधानमन्त्री कुनै पनि हालतमा राजीनामा नदिने अडानमा हुनुहुन्छ ।


प्रकाशित | ३० असार २०७७, मंगलवार १६:१२