कटुञ्जेमा अस्पताल बनाउन केही स्वार्थ बोकेका व्यक्तिहरुले रोकेको भन्दै महेश बस्नेत आक्रोशित

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कुटुञ्जेमा खेर गएको जमिनमा मानव अंग प्रत्यारोपण अस्पताल बनाउने प्रकृया अघि बढेकोमा केही स्वार्थ बोकेका व्यक्तिहरुले गणेशमानको शालिक भनि रोकेर राखेकोप्रति आक्रोस व्यक्त गर्नुभएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित चुख्खु खोलामा ट्रस पुलको शिलान्यास गर्नुहुँदै सांसद बस्नेतले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई कांग्रेसले अपमान गरेको आरोप लगाउनुहुँदै पछिल्लो समय गणेशमानको नाममा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले कमाई खाने भाँडोको रुपमा प्रयोग भएको बताउनुभयो । उहाँले कांग्रेसका स्वार्थी, कालोबजारी, दलालीलयातले गणेशमान र भट्टराईको इतिहासमा नै कालो धब्बा लगाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गणेशमान कांग्रेसको नीति नेता हैन, सवैको नेता हो । गणेशमानले मर्ने बेलामा रुख हेरेर हैन, मुख तथा व्यवहार हेरेर भोट हाल भन्नुभएकोले कांग्रेसको गतिविधिले गणेशमान र कृष्णप्रसाद भट्टराई कांग्रेसको हो भन्न समेत नमिल्ने अवस्थामा पुर्याए ।’

उक्त स्थानमा अस्पताल बन्ने उल्लेख गर्दै सांसद बस्नेतले दुई अर्व आएको बजेटबाट अस्पताल बनाउन दिने सड्यन्त्र भइरहेको तर त्यसलाई जनताले स्वीकार्न नसक्ने स्पष्ट पार्नुभयो । गणेशमानको शालिक तथा बाटिकालाई वर्तमान जनप्रतिनिधिको नेतृत्वमा बजेट व्यवस्थापन गरेको बताउँदै भक्तपुरको विकास देखेर कतिपयलाई ज्वरो आउन थाल्यो समेत बताउनुभयो ।

जताततै विकास लहर आएको बताउँदै सांसद बस्नेतले आदर्श बसपार्कबाट घ्याम्पेडाँडा जाने १२ मिटरको सडक, चख्खुखोलाबाट भट्टराईटोल बस्नेतगाउँ जाने १२ मिटरको सडक, घ्याम्पेडाँडा–नैचाल सडक, पलाँसे डोलेश्वर सडक, सूर्यविनायक गणेशथान हुँदै कृष्ण मन्दिर जाने सडकलगायतका दर्जनौं सडकहरु तिव्र गतिमा निर्माण भइरहेको जानकारी गराउनुभयो ।

भक्तपुरका सडकहरुमा पर्खाल निर्माणको कार्यहरु भईरहेको र अबका दिनमा ग्राभेल तथा कालोपत्रे गर्ने प्रतिवद्धता जनाउँदै उहाँले वर्तमान अवस्थामा भक्तपुरका कुनै पनि विद्यालय भवनहरु कच्ची नभएको र यो वर्ष आवश्यक व्यवस्थापन गरी व्यवस्थित भवनहरु निर्माण गरिसक्ने बताउनुभयो ।


प्रकाशित | २१ आश्विन २०७७, बुधबार १०:४२