आउँदो मनसुनमा कम पानी पर्ने

काठमाडौँ -जल तथा मौसम विज्ञान विभागले आउने वर्षायाममा सरदरभन्दा थोरै पानी पर्ने अनुमान गरिएको छ ।

विभागले सार्वजनिक गरेको मनसुन यामको हावापानी आकलन सम्बन्धी विवरण अनुसार मनसुनमा देशका अधिकांश स्थानमा औसतभन्दा कम पानी पर्नेछ। विभागका अनुसार मुलुकका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म छ।

यसले मनसुनका वेला पर्नुपर्ने जति पानी यो वर्ष नपर्ने सम्भावना उल्लेख्य भएको बुझाउँछ। यद्यपि, कोशीका मध्य तथा उत्तरपूर्वी भाग, बागमतीका दक्षिण-पूर्वी भाग, मधेशका अधिकांश भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ।

एक महीनापछि मनसुन मौसम शुरू हुनेछ। विभागले १८ जेठमा शुरू हुने मनसुन १३ असोजमा सकिने अनुमान गरेको छ। विभागले मनसुन शुरू हुनुअघि राष्ट्रिय मनसुन फोरमको आयोजना गरी मनसुन वेलाको हावापानी आकलन गर्दै आएको छ।

विभागले आगामी मनसुनका वेला सरदर तापक्रम पनि बढी हुने अनुमान गरेको छ। देशभरि अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ।


प्रकाशित | १ जेष्ठ २०८०, सोमबार १२:०८