जाने होइन त तीनधारे झरना ? दुई महिनामा एक लाख पुगे, स्थानीय उत्साहित, होमस्टे बनाउन अनुदान

काठमाडौं । काभ्रे पलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको रमणीय झरना फेला परेको समाचार निकै लोकप्रिय बन्यो । लामो समयदेखिको लकडाउनबाट विरक्तिएका उपत्यकाबासीहरुबीच नयाँ पर्यटकीय गन्तव्यको रुपमा रोशी गाउँपालिकामा रहेको तीनधारे झरनालाई रोजेपछि दुई महिनाकै बीचमा एक लाखभन्दा धेरै पर्यटक झरनामा भिजेर रमाउन पुगे । एकातिर काठमाडौंबाट ६० किलोमिटरको दुरी र घाम लागेको समयमा झरना नजिकैसम्म पुग्न सक्ने कच्ची बाटो भएकाले पर्यटनको आकर्षणमा सो झरना परेको हो ।

यत्तिका समयसम्म चर्चामा नरहेको तर एकाएक भाइरल बनेको झरनाको अत्याधिक प्रचार हुनुमा सामाजिक संञ्जालकोे पँहुच, मानिसमा लामो लकडाउनको नैराश्यता र एक दिनमै पूरा हुने यात्राको कारण झरना निक्कै लोकप्रिय बनेको सँस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सह–प्रवक्ता राजन पौडेलले जानकारी दिनुभयो ।

मन्त्रालयले बृहत विकास अवधारणको लागि डिपिआर मागेपछि गाउँपालिकाले डीपीआर बनाउने निर्णय गरिसकेको छ । तीनधारे झरना काठमाडौं उपत्यकादेखि करीब ६० किलोमिटरको छोटो दूरीमा रहनु तथा निक्कै रमणीय झरना भएकाले त्यसमा स्वदेशी पर्यटक आकर्षक भएको पर्यटन व्यवसायी मोहन गजुरेल बताउनुहुन्छ ।

झरना जान अफरोडको मज्जा, हाइकिङ तथा झरनामा नुहाउन पाउने भएकाले पर्यटक ओइरिएको उहाँको तर्क छ । तीनधारे झरना संरक्षण सम्वध्र्दन तथा पर्यटन उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर मगरका अनुसार दुई महिनायता झरना अवलोकन गर्न आउनेको संख्या ह्वात्तै बढेको छ । ’अहिले शनिबारबाहेक दैनिक झण्डै हजार जना झरना हेर्न आउने गरेका छन् । शनिबार मात्र दुई देखि तीन हजारसम्म आउने गरेको उहाँले बताउनुभयो ।

तेमाल तथा रोशी क्षेत्रको सबैभन्दा ठूलो जात्रा भनेको तेमालको नारायणथानको जात्रा हो । त्यो जात्रामा जस्तै मान्छेहरु दैनिक रुपमा आउन थालेपछि त्यहाँका स्थानीयले होमस्टे सञ्चालन गर्ने सिंढीहरु बनाउने कार्यमा सक्रिय बनेर लागेका छन् ।
‘एक महिना भयो हाम्रो गाउँमा तेमालको नारायणथान जात्रामै जति मान्छेहरु आइरहनुभएको छ’ सनमान तामाङ भन्नुहुन्छ ‘ गाउँपालिकाले प्रतिपरिवार होमस्टे बनाउन पहिलो चरण २० हजार दिने कुरा गरेको छ ।’

आफ्नो गाँउको झरना मोवाइलकै कारणले चर्चामा आएको सनमान बताउनुहुन्छ । उहाँले यत्रो समयपछि मोवाइलकै कारण झरना व्यापक प्रचारमा पुगेको उहाँले बताउनुभयो ।
‘हामीले गाउँमा पानी खान ल्याएको छाँगो हेर्न यत्तिका मान्छे आउलान् भनेर मैले सपनामा सोचेको थिइन’ सनमानले सुनाउनुभयो । उहाँ पनि एउटा छाप्रो बनाएर व्यापार सुरु गर्ने बताउनुहुन्छ ।

२०२८ सालमा पर्यटन विभागमा काभ्रेपलाञ्चोक जिल्लाको शिखरआम्बोटे गाविस वडा नं ८ मा रहेको तीनधारा झरना पर्यटकीय सम्पदामा सुचिकृत थियो । २०२८ सालमा पहिचान भएको सो तीनधारा झरनाको प्रचार हुनै सकेको थिएन । पंञ्चायतकालमै पर्यटन विभागमा पर्यटकीय क्षेत्रको रुपमा सूचीकृत तीनधारा झरना केही समयदेखि चर्चामा छ ।े

पंञ्चायतकालपछि प्रजातन्त्र स्थापनापछि शिखरआम्बोटे गाविस हुँदै अहिले स्थानीय तहको पुनः संरचनापछि रोशी गाउँपालिकामा पर्ने तीनधारा झरना यतिबेला सामाजिक संञ्जालमा सबैभन्दा चर्चित (भाइरल) नै बनेको छ ।

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल २०२८ सालमै तीन धारे झरना पर्यटन विभागमा सुचिकृत भएको बताउनुभयो । केही समयदेखि चर्चामा रहेको सो झरनासम्म पुग्न सडक, भरना क्षेत्रमा रेलिङ लगायतको व्यवस्थापनमा गाउँपालिकाले पहिलो चरणमा पाँच लाख रुपियाँ विनियोजन गरेको दाहालले बताउनुभयो ।

रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले पूर्वाधार विकासमा एक्लैले केही गर्न नसक्ने भएकाले प्रदेश सरकार र केन्द्रीय सरकारसँग समन्वय गरेर यसको प्रचार एंव भौतिक पूर्वाधारको विकासमा सहयोगको माग गरेको उहाँले बताउनुभयो । तीन धारे झरनालाई व्यवस्थित पार्दै यसलाई गाउँपालिकाको आम्दानी हुने प्रमुख स्रोतको रुपमा विकास गराउन आफूहरुले प्रयास थालेको अध्यक्ष लामाले स्पष्ट पार्नुभयो ।

सँस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सह–प्रवक्ता राजन पौडेल ओझेलमा परेको पर्यटकीय क्षेत्रको विकासमा आफूहरुले सहयोग गर्ने बताउनुहुन्छ । यो समाचार आजको गोरखापत्र दैनीकमा केशवराज पौडेलले लेख्नुभएको छ ।


प्रकाशित | १३ आश्विन २०७७, मंगलवार ०७:३९