काठमाडौ उपत्यकामा ८१७ सहित नेपालमा १ हजार ३५१ कोरोना संक्रमित थपिए, चारको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३५१ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार ८० नमुना जाँचमध्ये १ हजार ३५१ जनामा संक्रमण देखिएको हो। योसँगै संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ।

२४ घण्टामा ७४२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको छ। देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।

उपत्यकामा ८१७ संक्रमित थपिए

त्यस्तै काठमाडौं उपत्यकामा ८१७ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको छ।

उपत्यकामा कोराना संक्रमितको संख्या २२ हजार ३ सय २४ पुगेको छ। काठमाडौंमा १८ हजार १सय ३२, ललितपुरमा २ हजार २ सय ३१ र भक्तपुरमा १ हजार ९ सय ६१ संक्रमित पुगेका छन्।

थप ४ कोरोना संक्रमितको मृत्यु

नेपालमा आज ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ८१ पुगेको छ।

४ वटा जिल्लाका २ महिला र २ पुरुष गरी ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुनसरीमा ३८, भक्तपुरमा ५१ वर्षीया महिला, बाँकेमा ४७ र गुल्मीमा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ।

यसअघि आइतबार नेपालमा १० जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।


प्रकाशित | १२ आश्विन २०७७, सोमबार १६:५५