बोलेर होइन,जनताको कुरा धेरै सुनेर तथा विचार र विश्लेषण गरेर अगाडि बढ्नुस: माधव नेपाल

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका नेता तथा कार्यकताले धेरै बोलेर नभई जनताको धेरै कुरा सुनेर तथा विचार र विश्लेषण गरेर अगाडि बढ्नुपर्ने सुझाव दिनु भएको छ । धेरै बोल्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक भएको बताउँदै नेता तथा कार्यकर्ताले धेरै बोल्ने नभई जनताको धेरै कुरा सुन्नुपर्नेमा जोड दिनुभएको हो । ‘जनताले के भनिरहेका छन् सुन्नुहोला । धेरै बोलेर मात्रै हुँदैन’, युवा संघ नेपालले आज २९ औ स्थापना दिवको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले भन्नुभयो।

नेता नेपालले पार्टीभित्र धेरै सुन्ने, विचार र विश्लेषण गर्ने कम हुँदा जनअपेक्षा बुझ्न नसकिएको धारणा राख्नुभयो । जनताका सुख, दुःख बुझेर कम्युनिष्ट पार्टी अगाडि बढ्नुपर्ने भन्दै गलत प्रवृत्तिको विरुद्ध उभिनुपर्नेमा जोड दिनुभयो । नेता नेपालले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीले अझै धेरै जनताको मन जित्न बाँकी छ । ख्याल गर्नुहोला !  हामीले जनताको ५५ प्रतिशत मात्रै मत पाएका हौं,  दुई तिहाइ होइन । धेरै जनताको मन जित्न बाँकी नै छ , जनताका पीर मर्का तथा खुसीमा साथ दिर्दै बाँकि जनताको विश्वास जित्न सकिएमा मात्र अगाडि बढ्न सकिन्छ ।’


प्रकाशित | १ जेष्ठ २०७६, बुधबार १७:३३