ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता गरियो, पार्टी गम्भीर सङ्कटमा छ : प्रचण्ड

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको दावी गर्नुभएको छ । पुष्पलाल स्मृति दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी संकटमा रहेको स्पष्ट संकेत गर्नुभएको हो

पार्टीभित्रको अन्तर्विरोध बढ्दै जाँदा ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भएको र यसले कम्युनिस्ट आन्दोलन थप धरापमा परेको प्रचण्डको भनाइ छ ।

पार्टीकै निर्देशन र पहलमा नेपालको नयाँ नक्सा प्रकाशित गरे पनि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आफैले मात्रै गरेको र अरुलाई दलाल भन्दै हिँडेको भन्दै प्रचण्डले आपत्ति पनि जनाउनुभयो ।

पार्टीको अनुमति विपरीत आफूखुसी काम गर्दा सरकार बदनाम भएको आरोप लगाउँदै प्रचण्डले पार्टीको सक्रियताले भएका राम्रा कामको जस ओली एक्लैले लिन खोज्दा पार्टी फुटको खतरामा रहेको बताउनुभयो ।

उहाँले पार्टीलाई विभाजन हुन नदिन अन्तिमसम्म प्रयास गर्ने भन्दै अहिले चलिरहेको बहसबाट नयाँ ढंगले रूपान्तरित भएर पार्टी अघि बढ्ने कुरामा विश्वस्त रहेको भनाई पनि राख्नुभयो ।


प्रकाशित | ९ श्रावण २०७७, शुक्रबार १६:१५