कोभिड–१९ को पिसिआर परीक्षण सम्बन्धी १८ जिज्ञासा र उत्तर

– डा शंकर काफ्ले र राजेशकुमार गुप्ता

हाल विश्व माहमारीको रूपमा फैलिएको कोभिड-१९ को निदान पिसिआर विधिबाट हुँदै आएको छ। सुरुको अवस्थामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट मात्र सो टेस्ट हुँदै आएकोमा हाल देशका ७ वटै प्रदेशका ५० भन्दा बढी ल्याबबाट यो सेवा दिइएको छ। सो टेस्टको बारेमा विभिन्न माध्यमबाट जनातामा धेरै चेतना र ज्ञान भइसकेको अवस्थामा केही जिज्ञासा पाइएको हुँदा केन्द्रीय प्रयोगशालाको रुपमा कार्य गर्दै आइरहेको जनस्वास्थ्य प्रयोगशाला टेकुलाई फोकस गरी निम्न बुँदा यहाँ उल्लेख गरिएको छ।

१)    कोभिड–१९ को परीक्षण कुन ठाउँमा गरिन्छ?
यो टेष्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु लगायत देशका ७ वटै प्रदेशका ५० वटा प्रयोगशालामा गरिन्छ र थप प्रयोगशाला स्थापना हुने क्रममा छन्। (उक्त प्रयोगशालाहरुको नाम हेर्न nphl.gov.np मा जानुहोला)

२)    कोभिड–१९ टेष्टको लागि कति पैसा लाग्छ?
हालसम्मको नेपाल सरकारको निर्णयानुसार नेसनल टेस्टिङ गाइडलाइनमा पर्ने बिरामीको सरकारी अस्पतालमा निशुल्क परीक्षण गरिन्छ। निर्देशिकामा नपर्ने तथा निजी अस्पताल–ल्याबमा गरिने टेष्टको लागि अधिकतम रु.२०००।– लाग्छ।

३)    के यो कोभिड–१९ टेष्ट सबैले गराउनै पर्छ?
बिमारीको हकमा डाक्टरको परामर्शपछि मात्र यो टेस्ट गराउँदा राम्रो हुन्छ। एक पटक गरेको पिसिआर रेपोर्ट केही दिनलाई मात्र मन्यता हुने हुँदा अन्य व्यक्तिहरुले आवश्यक छ भने मात्र गराउन उचित हुन्छ।

४)    किन एउटै व्यक्तिको फरक ल्याबमा फरक रिपोर्ट आयो भनी हल्ला हुन्छ? 
पिसिआर विधिबाट भाइरसको उपस्थिति (पत्ता लगाउन सकिने मात्रामा भएमा) हेर्ने     हो, त्यसैले–
–    आज टेस्ट पोजेटिभ आएको व्यक्ति भोलि नेगेटिभ हुनसक्छ, आज टेस्ट नेगेटिभ आएको व्यक्ति भोलि पोजेटिभ हुनसक्छ।

–    राम्रो संग निकालिएको नमुनाको सहि नतिजा आउछ, नराम्रो संग निकालिएको नमुना को सहि नतिजा नआउन सक्छ ।

–    राम्रोसँग कोल्ड चेन नमिलाई पठाएमा पोजेटिभ नमुनाको पनि नेगेटिभ  आउन सक्छ।

यो भन्दा फरक किसिमको समस्या भए राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुमा उजुरी दिन सकिने छ।  

५)    मैले आफ्नै खर्चमा टेष्ट गराउन कहाँ जाने?
माथि उल्लेख भएका कोभिड–१९ को परीक्षण गर्ने नजिकको प्रयोगशालामा सम्पर्क गर्नुहोला।

६)    के कोरोना भाइरस टेष्टको लागि नमुना संकलन गर्दा व्यक्तिलाई अफ्ठ्यारो हुन्छ?
यस टेष्टको लागि थ्रोट स्वाब नमुना संकलन गरिन्छ। त्यही बेला नाक र घाँटीमा केही अफ्ठ्यारो महसुस हुने र खोकी लाग्ने र (५–१० प्रतिशतमा) नाकमा रगत देखापर्ने हुनसक्छ। 

७)    के ६–७ घण्टाभित्र कोभिड–१९ टेष्ट नगरे नमुना बिग्रन्छ?
नमुना नबिग्रियोस भन्ने हेतुले कोल्ड बक्समा कोल्डचेन मेन्टेन गरी नमुना ढुवानी गरिन्छ। नमुना स्टोरेजको आधारमा नमुना सुरक्षित राख्न सकिन्छ। २ देखि ८ डिग्री सेन्टिग्रेडमा एक हप्ता, २० डिग्री सेन्टिग्रेडमा एक महिना, ८०डिग्री सेन्टिग्रेडमा महिनौंसम्म। 

८)    कोभिड–१९ परीक्षणको रिपोर्ट आउन कति समय लाग्छ?
नमुना परीक्षण गर्ने ल्याबको रेकर्ड हेर्दा प्राय ल्याबले नमुनाको लोड हेरी नमुना आएको २४–७२ घण्टासम्ममा रिपोर्ट उपलब्ध गराएको पाइएको छ।

९)    के नेगेटिभ र पोजेटिभ रिपोर्ट पाउने समय फरक पर्नेछ?
फरक पर्नेछ।
–    यदि रिपोर्ट नेगेटिभ भएमा बिरामीलाई सो रेपोर्टको जानकारी जानेछ।
–    यदि रिपोर्ट पोजेटिभ भएमा रिपोर्ट सुरुमा बिरामीलाई जाने छैन, सो रिपोर्ट इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र (इडिसिडी) मा जानेछ। तहाँबाट स्थानीय निकायमा खबर गरी बिरामीलाई सुरक्षित ठाउँमा व्यवस्थापन भएपछि मात्र नमुना संकलन गर्ने फोकल व्यक्ति वा बिरामीलाई रिपोर्टको जानकारी जानेछ।

१०)    कोभिड–१९ परीक्षणको रिपोर्ट कसरी प्राप्त गर्ने?
ल्याब अनुसार व्यक्ति नै ल्याबमा पुगेर लिने वा वेबसाइटबाट लिने व्यवस्था मिलाइएको हुनसक्छ। तसर्थ, नमुना दिने बेला नै रिपोर्ट के–कसरी प्राप्त गर्नेबारे बुझ्नुहोला।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको हकमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको वेबसाइट nphl.gov.np मा लगइन गरेर त्यहाँ दिएको निर्देशन अनुसार सो रिपोर्ट हेर्न या निकाल्न सकिन्छ। युजर–नेममा मोबाइलमा आएको कोड वा पेसेन्ट आइडी राखी पासवर्डमा आफ्नो थर राख्नुहोला।

११)    के मेरो नमुना रद्द (रिजेक्ट) हुने अवस्था हुन सक्छ?
कति नमुनाहरु ढुवानीको क्रममा पोखिएका या विभिन्न कारणले प्रोसेस गर्न नसकिने अवस्थामा नमुना रद्द (रिजेक्ट) हुन्छ। जस्तैः
–    फारम पूर्ण रुपमा नभरिएको, 
–    अति आवश्यक विवरण पनि नभरेको, 
–    अक्षर नबुझिने तथा गलत विवरण भरेको,

१२)    के एकैसाथ संकलन भएको नमुनाको रिपोर्ट सँगै नआउन सक्छ?
रिपोर्ट सँगै नआउन सक्छ, यसको निम्नलिखित कारण हुनसक्छ–
–    स्याम्पलहरु लट अनुसार प्रोसेस हुँदा
–    माथि उल्लेख भएझैं नेगेटिभ र पोजेटिभको रिपोर्ट फरक हुँदा 
–    उल्लेखित विवरण र गलत इन्ट्रीको कारणले पनि रिपोर्ट प्राप्त गर्नमा ढिला हुनेछ

१३)    के एक ठाउँमा टेष्ट गराएको रिपोर्ट हेरेर मनखुसी तवरले अर्को ल्याबमा परीक्षण गर्न–गराउन पाइन्छ?
पाइँदैन, यदि कुनै गुनासो भएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गुनासो गर्न सकिने छ।

१४)    रिपोर्टमा व्यक्तिगत विवरण फरक पाउनु भएमा के गर्ने?
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको हकमा,  यदि रिपोर्टमा भएको विवरण सच्चाउनु पर्ने आवश्यक भएमा (परिचय खुल्ने) प्रमाण सहित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा निवेदन दिनुपर्ने हुन्छ। व्यक्तिगत रुपमा उपस्थित हुन नसकेमा नमुना संकलन गर्ने व्यक्तिको सहयोग लिने, सो पनि सम्भव नभएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको इमेल (nphl@nphl.gov.np) मा प्रमाण सहितको निवेदन पठाउन सकिने छ।

१५)    किन रिपोर्टमा विवरण फरक हुन्छ?
नमुना साथ पठाइएको फारमको विवरणलाई आधार मानेर व्यक्तिगत विवरण कम्प्युटरमा प्रविष्ट हुन्छ। अति आवश्यक पर्ने विवरण कम्प्युटरमा भर्नैपर्ने गरी सेट गरिएको हुन्छ। तर केही फारमहरु पूर्ण रुपमा नभरिएको, अति आवश्यक विवरण पनि नभरेको, अक्षर नबुझिने तथा गलत विवरण भरेको पाइएको हुन्छ। थप केही विवरण टाइप गर्दा मानवीय त्रुटि पनि हुनसक्छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको हकमा भने सो अवस्थामा कसैसँग नमिल्ने कोडहरु राखेर अगाडि बढिन्छ (जस्तै, उमेर उल्लेख नभएमा ५५५, फोन नं नभएमा ११११११११११)। फोन नंको हकमा रिपोर्टमा उल्लेख भएको नम्बर नमुना संकलन गर्ने व्यक्ति–फोकल पर्सनको पनि हुनसक्छ। 

यदि नमुना संकलन गर्दा भरिने फारम राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालाको वेबसाइटबाट निकाली पूर्ण रुपमा भरिएको अवस्थामा रिपोर्टमा फरक पर्ने विवरणको अवस्था न्यून हुन जानेछ।

१६)    “टेकुमा कोभिड–१९ को नमुना संकलन गरिरहेको छ, “रिपोर्ट टेकु गएको छ, त्यहीं बुझ्नु होला”जस्ता जिज्ञासा भएमाः
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सबैले सुनेको र जानेको केन्द्रीय प्रयोगशाला हुनाले यही सोध्न आउने कार्य सामान्य देखिन्छ। तर टेकुमा कोभिडसँग सम्बन्धित काम गर्ने तीन वटा संस्था छन्– १. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल), २. इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) र ३. राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला। त्यसैले टेकुमा सम्पर्क गर्नुभन्दा पहिला आफ्नो काम कुन संस्थाले गरिरहेको छ भन्ने एकिन गरी सेवा लिनुहोला।

१७)    रिपोर्टको वैधानिकताबारे जिज्ञासा भएमाः
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टका हकमा, कसैले पेस गरेको रिपोर्टको वैधानिकताबारे जिज्ञासा भएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको वेबसाइटमा लगइन गरेर त्यहाँ दिएको निर्देशन अनुसार सो रिपोर्ट हेर्नु या निकाल्नु होला। युजर–नेममा पेसेन्ट आइडी राखी पासवर्डमा व्यक्तिको थर राख्नुहोला।

१८)    रिपोर्ट गोपनीयताबारेः
आफ्नो मोबाइलमा रिपोर्टको लागि आएको म्यासेज असुरक्षित हुने तरिकाले जो कोहीलाई नदिनुहोला। आफ्नो रिपोर्ट समाजिक सञ्जालमार्फत पनि सार्वजनिक नगर्नुहोला। तपाइँको रिपोर्ट परिवर्तन गरेर अरुले दुरुपयोग गर्न सक्छन्। स्रोत -स्वास्थ्य खवर

(डा काफ्ले राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुका कन्सल्टेन्ट प्यथोलोजिस्ट हुन् भने गुप्ता राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुका सूचना अधिकारी हुन्।)


प्रकाशित | ३० भाद्र २०७७, मंगलवार ११:०१