सरकारको नीति तथा कार्यक्रम आज, संसद्को संयुक्त बैठक अपराह्न ४ बजे बस्ने

काठमाडौँ: सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । सङ्घीय संसद्मा सरकारको नीति तथा कार्यक्रम आज पेस गर्न लागेको हो । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेस गर्नुहुनेछ । संसद्को संयुक्त बैठक अपराह्न ४ बजे बस्ने तय भएको छ ।

संसद् सचिवालयका अनुसार नीति तथा कार्यक्रम पेस गर्नको लागि सबै तयारी पूरा भइसकेको छ ।  कोरोना जोखिमबाट परेको बहुपक्षीय असरमा नै कार्यक्रम केन्द्रित भई नीति तथा कार्यक्रम प्रस्तुत हुने अपेक्षा गरिएको छ । नीति तथा कार्यक्रम अनुसार सरकारले वार्षिक बजेट पेस गर्नेछ । नीति कार्यक्रम मन्त्रिपरिषद्बाट अनुमोदन भइसकेको छैन ।

सरकारले कोरोना जोखिमसँगै स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जनाका कार्यक्रमलाई मुख्य रूपमा नीति कार्यक्रममा अघि सार्ने तयारी गरेको छ । हाल कार्यान्वयनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई केही परिमार्जन गर्ने तयारी पनि सरकारको छ । रोजगारी सिर्जना गर्न कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने र आधुनिकीकरण गर्ने नीति लिने सरकारको तयारी छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कृषि, सिँचाइ जस्ता क्षेत्रसँग पनि जोडेर रोजगारी सिर्जना गर्ने सरकारको तयारी छ ।


प्रकाशित | २ जेष्ठ २०७७, शुक्रबार ०७:३३