नेपालमा थप १ हजार ८१८ जना कोरोना संक्रमित डिस्चार्ज, १ हजार २४६ जनामा संक्रमण

काठमाडौं – नेपालमा थप १२४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५० हजार ४६५ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३५ हजार ७०० उपचारपछि निको भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ छ। ८ हजार १० जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ४३८ होम आइसोलेसनमा छन्।

११ हजार ४४४ जनाको आज पिसिआर परीक्षण भएसँगै ८ लाख १० हजार ४८५ जनाको परीक्षण भएको छ। हाल ५ हजार ८०६ जना क्वारेन्टाइनमा छन्।

उपत्यकामा ५७२ जना थपिए

त्यस्तै, उपत्यकामा ५७२ कोरोना संक्रमण देखिएको छ । काठमाडौंका ४९५ , भक्तपुरका ३४ र ललितपुरका ४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिनुभयो ।

थप पाँच जनाको निधन

थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय १७ पुगेको छ।

३ वटा जिल्लाका १ महिला र ४ पुरुष गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्र तीन जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।

काठमाडौंमा मात्र ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ। चितवनमा ६२ र कपिलवस्तुमा २९ वर्षीय पुरुषको मृत्यु भएको छ।

नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।


प्रकाशित | २५ भाद्र २०७७, बिहीबार १६:५२