केही दिनअघि मुम्बइबाट आएका थिए कपिलवस्तुका कोरोना संक्रमित दाजुभाई

कपिलवस्तु : कपिलवस्तु मायादेवी गाउँपालिका–२ अभिरावका कोरोना संक्रमित युवकहरू एउटै घरका दुई भाई रहेको खुलेको छ । भारतको मुम्बईबाट आएका उनीहरू ३ दिनअघि सीमा क्षेत्रको चाकरचौडाबाट लुकिछिपी कपिलवस्तु प्रवेश गरेका थिए ।

संक्रमित रहेका २ भाइलाई गाउँपालिकाको पकडीस्थित छत्रपाली तीर्था देवि माविको क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुसहित सो क्वारेन्टाइनका ६५ जना सर्वसाधारणको स्वाब परीक्षणका लागि नमुना संकलन गरी काठमाडौं पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गाउँपालिका-२ अभिरावका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरुको थप उपचारको लागि बुटवल लैजाने तयारी भइरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । आजको अन्नपूर्ण पोष्टबाट


प्रकाशित | २६ बैशाख २०७७, शुक्रबार ०८:४९