सबै स्थानीय तहमा ५ शैय्याको अस्पताल सञ्चालन गर्ने निर्णय, चिकित्सक नर्स करारमा लिइने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६४९ स्थानीय तहमा ५ शैप्याको अस्पताल तत्काल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बसेको मन्त्रीस्तरीय बैठकले अस्पताल नभएका ६४९ स्थानीय तहमा एकै पटक अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

मन्त्रालयले कम्तीमा एक चिकित्सकसहित पाँच शैप्याको अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराउनुभयो । प्रवक्ता गौतमले अस्पताल नभएका ६४९ स्थानीय पालिकामा ५ शैय्याको अस्पतालको दरले ३ हजार २ सय ४५ शैय्या थप गरेको जानकारी गराउनुभयो । उहाँले शैय्या थपसँगै जनशक्ति थप गरिएको पनि बताउनुभयो ।

उक्त अस्पतालमा एमबीबीएस डाक्टर एक जना र नर्स दुइ जना हुनेछन भने आवश्यक संख्यामा स्वास्थ्यकर्मीहरू पनि रहनेछन । मन्त्रालयले छोटो अवधिमै करारमा चिकित्सक र नर्स भर्ना गर्ने तयारी गरेको छ ।

मन्त्रालयले अस्पताल सञ्चालनका लागि आवश्यक बजेट ६४ करोड पनि आजै निकासा गरेको जनाएको छ । स्थानीय तहमा कहाँ अस्पताल सञ्चालन गर्ने भन्ने निर्णय सम्बन्धित स्थानीय तहले गर्नेछन । साथै अस्पतालको व्यवस्थापन पनि स्थानीय तहले नै गर्नेछ ।

मन्त्रालयले कोभिड १९ को उपचारका लागि केन्द्रमा एक हजार शय्या थप गरेको प्रवक्ता डा गौतमले बताउनुभयो । गौतमका अनुसार प्रादेशिक अस्पतालमा १ हजार ९ सय ५७ शय्या थप गरिएको हो ।

त्यसैगरी, सरकारले थप ३ निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा सुचीकृत गरिएको छ। जसमा वीरगञ्जको नेशनल मेडिकल कलेज टिचिङ अस्पताल, काठमाडौंको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड अस्पतालको रुपमा सुचीकृत गरिएको मन्त्रालयले जनाएको छ।


प्रकाशित | १२ भाद्र २०७७, शुक्रबार २०:०७