अस्पतालले ज्वरोका बिरामी लिनै मान्दैनन्

भरतपुर – हरेक वर्षजसो कुनै न कुनै उच्च ज्वरोको प्रकोप देखिने चितवनमा यो वर्ष पनि ज्वरोको मौसम सुरु भएको छ । कोरोना सङ्क्रमणको त्रास भएका बेला ज्वरो आएका बिरामीको समेत चितवनका अस्पतालले उपचार गर्न नमानेको गुनासो बिरामीका आफन्तले गरेका छन् । ज्वरो भन्ने बित्तिकै अस्पतालले कोरोनाको सन्त्रासले बिरामी फर्काइदिएर उपचार नै नपाई मर्ने अवस्था सिर्जना भएको छ ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी अहिले अस्पतालले सामान्य ज्वरोको समेत उपचार नगरेर भयावह स्थिति सिर्जना गरिरहेका बताउनुहुन्छ । “चितवनका प्रायः अस्पतालले ज्वरोका बिरामीको उपचार गर्न मानिरहेका छैनन् । यो भयावह हुने स्थिति हो”, उहाँले भन्नुभयो । मेडिकल सिटीका रूपमा परिचित चितवनमा ज्वरोका बिरामीले समेत उपचार नपाएर मर्ने अवस्था उत्पन्न हुनु लाजमर्दो अवस्था भएको देखिन्छ ।

गत आइतबार राति गोरखाको एपोलो हस्पिटलले अङ्गदकुमार श्रेष्ठलाई डेङ्गु पहिचान गरी थप उपचारका लागि चितवन पठाएको थियो । चितवनका ठूला मेडिकल कलेजसहितका निजी अस्पतालले उपचार गर्न मानेनन् । रातभरी अस्पताल चाहर्दाचाहर्दै कुनैले पनि भर्ना लिन नमानेपछि उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष कल्याण श्रेष्ठको सिफारिसमा पुष्पाञ्जली अस्पतालले उहाँलाई मध्यरातमा भर्ना लियो ।

“बिरामीको प्लेटलेटको मात्रा घटेर ३० हजारमा झरेको र ज्वरोसमेत आएको थियो । अहिले त उपचारपछि प्लेटलेटको मात्रा बढेर ५० हजार पुगेको छ”, बिरामीको उपचारमा संलग्न एक चिकित्सकले भन्नुभयो । यदि बिरामीले तत्काल उपचार नपाएको भए अवस्था निकै गम्भीर हुने थियो ।

यस्तै, भरतपुर–२ बाट कामज्वरो आएर उपचार गराउन पुरानो मेडिकल कलेज पुग्नुभएकी एक महिलाको ओपीडीमा परीक्षण गर्दा निमोनिया भएको देखिएपछि कलेजले भर्ना गरेर उपचार गर्न मानेन ।

“पिसाबमा इन्फेक्सन थियो । छातीमा सामान्य दाग (निमोनिया) देखिएपछि अस्पतालले छिटोभन्दा छिटो निकाल्न दबाब दियो । भर्ना गरेर उपचार गर्न मानेन” नाम नबताउने सर्तमा उदास हुँदै बिरामीको छोराले भन्नुभयो, “जिल्लाका प्रायः सबै अस्पताल चहारेँ तर ज्वरो आएको भनेपछि कसैले पनि लिन मान्दा रहेनछन् । ” घरमै बसेर अहिले पीसीआर परीक्षण गरेको उहाँको भनाइ छ ।

चितवनमा अस्पतालका अहिले बिरामी उपचारका लागि अस्पतालका ढोका चाहार्नुपर्ने अवस्था छ । अझै ज्वरो आएको बिरामी भनेपछि उनीहरू कोरोनाको सन्त्रासकै कारण उपचार गर्न चाहँदैनन् ।
अध्यक्ष अधिकारी बिरामी अस्पतालमा आएपछि उपचार गर्दिन भनेर पन्सिन नमिल्ने तर्क गर्नुहुन्छ ।

अघिल्लो वर्ष चितवनमा डेङ्गुको सङ्क्रमण थियो । गत वर्ष डेङ्गुकै कारण तीन जनाको मृत्यु र चार हजार ७१६ जना सङ्क्रमित भएका थिए । स्क्रबटाइफसबाट ५५ जना सङ्क्रमित भएका जनस्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, गत वर्ष मलेरियाका दुई जना बिरामी भेटिएका थिए । साउनदेखि कात्तिकसम्म उच्च ज्वरोको सङ्क्रमण देखिने चितवनमा यो वर्ष पनि क्रमशः ज्वरोका बिरामी बढ्दै छन् तर अस्पतालहरूले ज्वरो आउनेबित्तिकै कोरोना नै हो भन्दै उपचार गर्न डराएका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट भने कोभिड र ननकोभिड बिरामीको उपचारको व्यवस्थापन र समन्वय भइरहेको दाबी गर्नुहुन्छ । “ज्वरोका बिरामीलाई उपचार नपाए सम्पर्क गर्न फोन नम्बर सार्वजनिक गरेका छौँ, समस्या परेका व्यक्तिले उहाँहरूलाई सम्पर्क गर्नुप¥यो’’, उहाँको थप भनाइ थियो, “समस्या समाधान भएन भने हामीलाई खबर गर्नुप¥यो । ” उहाँले उपचार नै गर्न कसैले अटेरी गर्छ भने कानुनी कारबाहीका लागि विभिन्न व्यवस्था गरेको जानकारी दिनुभयो । समाचार आजको गोरखापत्र दैनीकमा प्रकाशित छ ।


प्रकाशित | १० भाद्र २०७७, बुधबार ०८:००