बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजहरूको आनाकानी

काठमाडौं : तीन दिनभित्र बढी शुल्क फिर्ता गर्न सरकारले निजी मेडिकल कलेजलाई दिएको निर्देशनको म्याद आज आइतबार सकिँदै छ। एक महिनाअघि भएको सहमति कार्यान्वयन गर्न निजी मेडिकल कलेजले बेवास्ता गरेपछि सरकारले फिर्ताका लागि पछिल्लो पटक तीन दिनको समय दिएको थियो। राजधानी दैनिकमा समाचार छ, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले पछिल्लोपटक निर्देशन दिए पनि सम्बन्धित विश्वविद्यालयले समेत बढी लिएको शुल्क फिर्ता गरे\नगरेको प्रगति विवरण पठाएको छैन।

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मेडिकल शिक्षामा तोकिएको भन्दा बढी शुल्क उठाइएको सन्दर्भमा कलेजविरुद्ध उजुरी आएको बताए। उनले भने, ‘सम्बन्धित विश्वविद्यालयले शुल्क फिर्ताका विषयमा भएको सहमति लागू भए\नभएको उजुरी संकलन गरेर मन्त्रालयमा पठाउनुपर्छ। तर, अझै विश्वविद्यालयले पठाएका छैनन्। सबैको मूल्यांकन भइरहेको छ।’

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा बढी शुल्क लिएका मेडिकल कलेजले एक महिनाभित्र शुल्क फिर्ता गर्ने सहमति ८ चैत २०७५ मा भएको थियो। सहमति क्रममा शिक्षा मन्त्रालयका उच्च अधिकारी, कलेज सञ्चालक र विद्यार्थी संगठनका प्रतिनिधिहरूसमेत सहभागी थिए। सरकारले पनि पछिल्लोपटक तीन दिनभित्र शुल्क फिर्तासम्बन्धी विवरण पठाउन विश्वविद्यालयलाई पत्राचार गरेको थियो। मुख्यतः काठमाडौंस्थित किस्ट मेडिकल कलेज, चितवनस्थित चितवन मेडिकल कलेज, पोखरास्थित गण्डकी मेडिकल कलेज, भैरहवास्थित युनिभर्सल मेडिकल कलेज, वीरगन्जस्थित नेसनल मेडिकल कलेजले विद्यार्थीबाट तोकिएको भन्दा चर्को शुल्क लिएको विषय सार्वजनिक भएको थियो।


प्रकाशित | २२ बैशाख २०७६, आईतवार ०७:३१