सेभियालाई छैटौं पटक युरोपा लिगको उपाधि

एजेन्सी । स्पेनिस क्लब सेभियाले युरोपा लिग फुटबलको उपाधि जितेको छ । जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेभियाले उपाधि जितेको हो ।

सेभियालाई जित दिलाउन लुक डी योङले दुई गोल गरे । यस्तै डिएगो कार्लोसले थप एक गोल गरे । इन्टरका रोमेरो लुकाकु र डिएगो गोडीनले एक एक गोल फर्काए । कोलोग्ने स्टेडियममा सुरुवाती एक गोलको अग्रता उल्टाएर सेभिया च्याम्पियन बनेको हो ।

खेलको पाँचौं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई १-० को अग्रता दिलाए । डिएगो कार्लोसले लुकाकुलाई पेनाल्टी क्षेत्रमा लडाएपछि इन्टरले पेनाल्टी पाएको थियो । जसमा लुकाकुले सहजै गोल गरे ।

यससँगै लुकाकु युरोपियन प्रतियोगिताको ६ खेलमा क्रिस्टियानो रोनाल्डोपछि लगातार गोल गर्ने दोस्रो खेलाडी बने । तर , १२ औं मिनेटमा योङले गोल गर्दै सेभियालाई १-१ गोलको बराबरीमा फर्काए । जिसस नाभासको क्रसमा योङले हेड गोल गरेका थिए ।

३३ औं मिनेटमा योङले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २-१ को अग्रता दिलाए । यस पटक योङले इभर बनेगाको क्रसमा हेड गोल गरे ।

तर, ३६ औं मिनेटमा इन्टरका गोडीनले गोल गरेपछि पहिलो हाफको खेल २-२ गोलको बराबरीमा सकिएको थियो । मार्सेलो ब्रोजोभिकको फ्रिकिक बलमा गोडीनले हेड गोल गरेका थिए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा कार्लोसले गोल गर्दै सेभियालाई ३-२ को जित दिलाए । कार्लोसको एक्रोब्याटिक प्रहार इन्टरका लुकाकुलाई लाग्दै गोलमा परिणत भएको थियो ।

यससँगै सेभियाले छैटौं पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ । सेभिया ६ पटक युरोपा लिग जित्ने एक्लो टिम हो । पछिल्लो पटक सेभियाले २०१६ मा युरोपा लिग जितेको थियो ।


प्रकाशित | ६ भाद्र २०७७, शनिबार ०९:३२