हजुर आमाले पाउनु भयो १०५ वर्ष उमेरमा नागरिकता

चरिकोट, । दोलखाको मेलुङ गाउँपालिकाका एक वृद्धाले एक सय पाँच वर्षको उमेरमा नागरिकता पाउनुभएको छ । गाउँपालिकाको वडा नम्बर ३ तल्लो घ्याङकी दुर्गामाया कार्कीले १०५ वर्षमा नागरिकता पाउनुभएको हो । १९७२ साल भदौ १८ गते जन्मिनुभएको उहाँलाई वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यलय दोलखाले नेपाली नागरिकताको प्रमाणपत्र दिइएको प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले जानकारी दिनुभयो ।

मंगलबार २२–०१–७७–०१८८८ नम्बरको नागरिकता पाएसंगै दोलखामा यति धेरै उमेरमा नागरिकता प्राप्त गर्ने उहाँ पहिलो नागरिक हुनुभएको छ। दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर –४ मालुबाट २००१ सालमा इन्द्र बहादुर कार्कीसँग बिवाह भई मेलुङ पुग्नु भएको उहाँ छोरी ६ वर्षको हुँदा श्रीमानसँग छुट्टिएर माईत गएर बस्नुभएको थियो ।

उहाँ हाल मालु स्थित छोरीको घरमा बस्दै आउनुभएको छ भने नागरिकता प्रमाणपत्रका लागि मेलुङको भतिजो गोकुल कार्की सनाखतमा बस्नुभएको हो । नागरिकता प्राप्त भएसँगै उहाँलाई सामाजिक सुरक्षा भत्ता तथा राज्यको अन्य सेवा सुविधा प्रदान गर्न सहज हुने मेलुङ गाउँपालिकाको प्रवक्ता एवम् वडा नम्बर –३का वडा अध्यक्ष हिरा थोकरले जानकारी दिनुभयो । स्रोत -गोरखापत्र दैनीक


प्रकाशित | २९ पुष २०७७, बुधबार ०७:२६