श्रीलंकामा बम विस्फोट: सरकारी अधिकारीको गलत तथ्यांक, मृतकको संख्या १०० बढी घटाइयो

एजेन्सी: श्रीलङ्काली सरकारले आइतबार भएको बम बिस्फोटमा ज्यान गुमाउनको संख्यामा संशोधन गरेको छ। श्रीलंकामा गएको आइतबार भएको बम विस्फोटमा मारिनेको संख्या १०० जनाभन्दा बढीले घटाएको छ । सरकारी अधिकारीहरुले संख्याका सम्बन्धमा त्रुटि हुन गएको जनाएको बीबीसीले उल्लेख गरेको छ । श्रीलङ्काका स्वास्थ्य मन्त्रालयका अनुसार विस्फोटमा ज्यान गुमाउनेको संख्या संख्या २ सय ५३ जना रहेको छ ।

यसअघि बिहीबार बेलुकासम्ममा ३ सय ६० जनाभन्दा बढीको ज्यान गएको बताइएको थियो । राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि विस्फोट भएका थिए । श्रीलंकाको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली विस्फोट भएको थियो ।

विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ । तर सरकारले श्रीलङ्कामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशङ्का गरेको छ । यो समूहलाई अन्तर्राष्ट्रिय आतङ्कवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलङ्का सरकारको अनुमान छ ।

आइतबारको बम आक्रमणको घटनालाई लिएर श्रीलंकाका रक्षा सचिव हेमासिरी फर्नान्डोले बिहीबार पदबाट राजीनामा दिएका छन् । आक्रमणको पूर्वजानकारी भए पनि सुरक्षा मामिला हेर्ने अधिकारीहरुले राजनीतिक नेतृत्वलाई जानकारी नगराएको तथ्य सार्वजनिक भएपछि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले उनीहरुलाई पद छोड्न निर्देशन दिएका थिए ।


प्रकाशित | १३ बैशाख २०७६, शुक्रबार १५:१७