आजदेखि पाँचौँ चरणको उद्धार उडान हुँदै

काठमाडौँ – विदेशमा अप्ठ्यारोमा परेका नेपालीको पाँचौ चरणको उद्धार उडान आजदेखि हुँदैछ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स ) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले पाँचौ चरणको उद्धार उडान गर्नेछन् । ।

नेपाल एयरलाइन्सले यही भदौ १५ सम्म उद्धार उडान गर्नेछ भने हिमालय एयरलाइन्सले भदौ १४ सम्मको उद्धार उडान गर्नेछन् । दैनिक ५०० जनालाई स्वदेश फर्काउने गरि उद्धार उडान हुनेछ । तीमध्ये २०० जनालाई सरकारले आफ्नै खर्चमा ल्याउने छ भने ३०० जना आफैँले टिकट काटेर आउनेछन् । स्वदेश फर्कने नेपालीलाई सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले गरेको सिफारिसका आधारमा नेपाल ल्याइनेछ ।

आज नेपाल एयरलाइन्सले दोहाबाट, हिमालय एयरलाइन्सले क्वालालम्पुर र दोहाबाट तथा फ्लाई दुबईले दुबईबाट नेपालीको उद्धार उडान गरी स्वदेश फर्काउने तालिका छ । अहिलेसम्म विदेशबाट ५१ हजार ४४१ जना नेपालीको उद्धार गरिसकिएको छ ।

यसअघि सरकारले भदौ १ गतेदेखि हवाई उडान खुलाउने निर्णय गरेपनि नेपालमा कोरोना संक्रमण फैलदै गएपछि फेर बन्द गर्ने निर्णय गरेको थियो ।


प्रकाशित | १ भाद्र २०७७, सोमबार १०:५३