नेपालमा पहिलो पटक २१ सयलाई ‘माउन्टेन गाइड’ अनुमतिपत्र दिइँदै

काठमाडौं । पर्यटन विभागले पहिलो पटक ‘माउन्टेन गाइड’ लाइसेन्स वितरण शुरु गरेको छ । विभागले योग्यता पुगेका २१ सय पाँच जनालाई पर्वतारोहीलाई लाइसेन्स दिन शुरु गरेको छ । विभागले सूचना जारी गरी आइतबारबाट निवेदन संकलन गर्न शुरु गरेको विभागका निर्देशक एवं पर्वतारोहण शाखाका प्रमुख मीरा आचार्यले जानकारी दिनुभयो । प्रकाशित सूचना अनुसार नेपाल पर्वतारोहण संघबाट रातो किताब लिएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट प्रदान गरेको तह चार को माउन्टेन गाइड प्रमाणपत्र पाएका पर्वतारोहीले लाइसेन्स पाउनेछन् ।

यसमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट तह चार को माउन्टेन गाइड प्रमाणपत्र लिने ११ जना र नेपाल पर्वतारोहण संघबाट रातो किताब पाएका दुई हजार ९४ जना गरी २१ सय पाँच जनाले पहिलो पटक लाइसेन्स प्राप्त गर्नेछन् । ६८ वर्षअघि सन् १९५३ मा एडमण्ड हिलारी र तेञ्जिङ शेर्पाले पहिलो पटक सगरमाथाको आरोहण गरेपछि हिमाल र मानवबीचको सम्बन्ध शुरु भएको पाइन्छ । त्यो समयदेखि आजसम्म हिमालमा काम गर्ने पर्वतारोहीका लागि सरकारले प्रमाणपत्र उपलब्ध गराएको थिएन । विभागले यस पटक माउन्टेन गाइड लाइसेन्स वितरण शुरु गरे पछि आरोही गाइडहरु खुसी भएका छन् ।

गत वर्षदेखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले समेत सीप परिक्षण गरी चार तहको माउन्टेन गाइण प्रमाणपत्र दिन शुरु गरेको थियो । परिषद्ले पहिलो पटक ११ जना गाइडलाई प्रमाणपत्र दिएको थियो । इजाजतको समयावधि पाँच वर्षको हुने छ । आरोहणका लागि खुल्ला गरेका ४०३ वटा हिमालमा हाल पर्वतारोहीहरुले गाइड गर्दै आएको विभागको तथ्याङ्क छ ।
लाइसेन्स वितरणले पर्वतारोहीको मनोबल बढ्ने भएकाले आरोहण थप व्यवस्थित हुने निर्देशक आचार्यले बनाउनुभएको छ । गोरखापत्र दैनीकमा प्रकाशित समाचार ।


प्रकाशित | ३ चैत्र २०७७, मंगलवार ०९:०२