काठमाडौं उपत्यकामा ११९ सहित थप ५९४ जनामा कोरोना पुष्टि

काठमाडौं – नेपालमा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ। पछिल्लो २४ घण्टामा ११ हजार ५७५ जनाको पीसीआर परीक्षण भएको छ।

नेपालमा अहिले सात हजार ९१३ संक्रिय संक्रमित रहेका छन्। अहिले क्वारेन्टाइनमा १४ हजार ६३८ रहेका छन्। पछिल्लो २४ घण्टामा २४० डिस्चार्ज भएका छन्। योसँगै नेपालमा १७ हजार ७७ जनाले कोरोना जितेका छन्।

त्यस्तै, काठमाडौं उपत्यकामा थप ११९ जनामा संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ११९ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । बुधबार १३८ जना र बिहीबार १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

काठमाडौंका ८३ जना, भक्तपुरका ६ जना र ललितपुरका ३० जना गरी कुल ११९ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

थप चारको निधन

पछिल्लो २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। दिउँसो सवा ४ बजे मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा थप ४ जनाको मृत्यु भएसँगै ९९ जना संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो ।


प्रकाशित | ३० श्रावण २०७७, शुक्रबार १६:४४