गोंगबु हत्याकाण्डमा संलग्न सार्वजनिक : ‘सेक्सुअल ह्यारेसमेन्ट’ सहन नसकेर हत्या गरेको बयान

काठमाडौं – कल्पना मुडभरी पौडेलले आफ्नो नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या गरेकाले कृष्णबहादुर बोहराको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ। गत शनिबार राति कल्पनाले बोहराको हत्या गरी सुट्केशमा शव, जेब्रा झोलामा टाउको र खुट्टा हालेर गोंगबुमा फालेको स्वीकारेकी छन ।

महानगरीय प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गरी नक्कली फेसबूक अकाउन्ट बनाएर निःवस्त्र तस्वीरहरू पठाउने गरेकाले कोठामा बोलाएर बोहराको हत्या गरेको बयान दिएको जानकारी दिएको छ । ‘सेक्सुअल ह्यारेसमेन्ट’ सहन नसकेर आफैंले कृष्णबहादुर बोहोराको हत्या गरेको हत्या आरोपमा पक्राउ परेकी कल्पना मुडभरीले प्रहरी समक्ष बयान दिएका हुन ।

खानेकुरामा स्लिपिङ ट्याबलेट राखेर खुवाएको र त्यसपछि अण्डकोषमा हानेर हत्या गरेको उनले बताएकी छन् । शव व्यवस्थापनमा छोरीले पनि सघाएको बयान कल्पनाले दिएको प्रहरीले जनाएको छ ।

शवको सनाखत हुन नसकेपछि प्रहरीले फोटो नै सार्वजनिक गरेको थियो । त्यसपछि शव दाङका कृष्णबहादुर बोहराको भएको खुलेको थियो ।

शव फालिसकेपछि उनी माइती जान्छु भन्दै एम्बुलेन्समा चितवन पुगेकी थिइन । प्रहरीले उनलाई सोमबार साँझ चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।


प्रकाशित | २७ श्रावण २०७७, मंगलवार १३:४०