आउँदो चुनावपछि एमालेको नेतृत्वमा सरकार बन्छ : केपी ओली

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनावपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गर्नु भएको छ । चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले अब लगतै तीन तहको चुनाव आउने र ती चुनावमा एमालेले बहुमत ल्याउने दाबी गर्नु भएको हो ।

उहाँले भन्नुभयो, ‘चुनाव आउँदैछन् । हामी अब चुनावको तयारीमा जानेछौँ । देशको सार्वभौमसत्ता र लोकतन्त्रको रक्षाका लागि एमालेले एकल बहुमत ल्याउनुपर्ने छ।’

उहाँले नेकपा एमालेको सरकारले विभिन्न लोकप्रिय कार्यक्रम ल्याएको बताउँदै आफ्नो पार्टी देश बनाउने पार्टी भएको उल्लेख गर्नुभयो । उहाँले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्ने समेत बताउनुभयो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी नयाँ नक्सामा समेटेर त्यसलाई संविधानको अङ्ग बनाएको तर त्यो जमिन फिर्ता लिएपछि मात्रै आत्मसम्मान हुने अध्यक्ष ओलीले बताउनुभयो ।


प्रकाशित | १० मंसिर २०७८, शुक्रबार १८:५४