भारत निर्वाचन: १२ राज्यमा दोस्रो चरणको मतदान हुँदै

भारतमा विश्वकै ठूलो मानिएको निर्वाचनअन्तर्गत विभिन्न राज्यमा बिहीवार दोस्रो चरणमा मतदान हुँदैछ। यो चरणमा तमिलनाडुसहित १२ राज्य र एक केन्द्रशासित प्रदेशमा १६ करोड मानिस मतदानका लागि योग्य छन्। संसद्को तल्लो सदन लोकसभाका लागि भएको यो निर्वाचन अन्तर्गत मे १९ तारिखसम्म सात चरणमा मतदान हुनेछ। सबैतिर मतदान सकिएपछि मतगणना २३ तारिखमा सुरु हुनेछ।

प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि निर्वाचित हुन खोजिरहेका छन्। यो निर्वाचनलाई उनका लागि जनमतसङ्ग्रहका रूपमा हेरिएको छ। यद्यपि रोजगारी सिर्जना गर्ने र किसानको समस्या सम्बोधन गर्नेजस्ता आफ्ना वाचा सरकारले पूरा गर्न नसकेको विपक्षीहरूको आरोप छ।

कहाँ के हुँदैछ ?

यो निर्वाचनबाट भारतीय संसद्को तल्लो सदन लोकसभाका लागि प्रत्यक्ष रूपमा नयाँ सांसद चुन्नेछ। लोकसभामा ५४३ स्थान छन्। बहुमत ल्याउन २७२ सांसद हुनुपर्छ। गत एप्रिल ११ मा पहिलो चरणमा उत्तरप्रदेश, बिहार, पश्चिम बङ्गालसमेत १८ राज्य र दुई केन्द्रशासित क्षेत्रमा मतदान भएको थियो।  पहिलो चरणमा मतदान भएका स्थानमा ९१ सांसद् निर्वाचित हुनेछन् भने दोस्रो चरणको मतदानबाट ९५ सांसद् छानिनेछन्।

दोस्रो चरणमा असम, बिहार, छत्तीसगढ, जम्मू(कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, पुद्दुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश तथा पश्चिम बङ्गालका निर्वाचन क्षेत्रमा मतदान हुँदैछ। तमिलनाडुकका ३८ क्षेत्र तथा त्रिपुरा, मणिपुर र पुद्दुचेरीमा एक(एक क्षेत्रमा मतदान हुँदैछ। तमिलनाडुमा भेलोरमा हुनुपर्ने मतदान अनियमितताको आशङ्कामा स्थगित भएको छ। बीबीसी


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार १३:०१