किनमेल गर्दा कोरोना संक्रमणबाट कसरी बच्ने ?

खिम लामिछाने काजी 

संसारमा जति नै ठूलो संकट वा विपत आए पनि मानव जातिले आफ्नो आधारभूत आवश्यकता परिपूर्ति जसरी पनि गरेकै हुन्छ। सबैभन्दा पहिले बाँच्नको लागि खानाको आवश्यकता पर्छ। खानाको लागि जीवनमा सबैले केही न केही गरिरहेकै हुन्छन्। 

कोरोना भाइरसका कारण हाल संसारभर देखिएको संकटकालीन अवस्थ्यामा अत्यावश्यक कार्यको लागि बाहेक घरबाट बाहिर ननिस्कनु नै उत्तम हुन्छ। जुन कुरा विश्व स्वास्थ्य संगठनले पनि भन्दै आइरहेको छ।   

अत्यावश्यक काममध्ये घरको लागि प्रयोग हुने दैनिक सामग्री खरिद गर्नु पनि एक हो। अहिले कोरोना संक्रमणका बिरामीहरु लक्षण सहित देखा परिरहेका छन्। सामुदायिक स्तरमा कोरोना संक्रमण बढ्ने सम्भावना प्रबल रहेको छ। कोरोना संक्रमित हुनेको संख्यामा भारी वृद्धि भइरहेका स्थानहरुमा कोरोनाको ‘मासटेस्टिङ’ गर्दा यो कुरा पुष्टि होला।

अबका दिनमा हरेक नागरिकले अझ बढी सावधानी र सजगता अपनाउनुपर्ने देखिन्छ। बिनाकाम घरबाट निस्कनु मुर्खता हुन्छ। जीविकोपार्जनको लागि कमाउने उद्देश्यले घरबाट बाहिर निस्कँदा अन्यन्त होसियारीपूर्वक आफ्नो कार्य सम्पादन गर्नुपर्ने हुन्छ। घरायसी समान खाध्यान्न सामग्री तथा लत्ता कपडा लगायत अत्यावश्यक सामग्री खरिद गर्न बजार वा पसल जानुपूर्व कोरोना संक्रमणबाट बच्ने कुरामा ध्यान दिन जरुरी छ। 

किनमेल गर्दा कोरोना संक्रमणबाट बच्न निम्न तरिका अबलम्वन गर्नुपर्छ:  
१. लिस्ट तयार- 
बजार वा पसल जानुभन्दा पहिले आफ्नो परिवारको लागि चाहिने सम्पूर्ण सामग्रीको लिस्ट तयार गर्ने। 

२. परिवारको एक जना सदस्य मात्र सपिङ गर्न जाने- धेरै जना गएर भीड नबढाउने। ह्यान्ड स्यानिटाइजर पनि सँगै लिएर जाने। मुटुका रोगी, दम, श्वासप्रश्वास, मधुमेह जस्ता दीर्घरोगी तथा वृद्धवृद्धालाई सपिङमा जान नदिने।

३. अत्यावश्यक सामग्री मात्र खरिद गर्ने।  

४.  मास्कको प्रयोग गर्ने- कुनै पनि पसल, सपिङ मल वा कुनै पनि स्थानमा समान खरिद गर्न जाँदा मास्कको प्रयोग अनिवार्य गर्ने।

५. सामाजिक-भौतिक दूरी- जुनसुकै स्थानमा सामान खरिद गर्न जाँदा पनि कम्तीमा २ मिटरको दूरी कायम गर्ने।  

६. भीडभाडमा नजाने- समान किन्न जाँदा पसलमा भीड छ भने अर्को पसलमा जाने वा केही समय कुरेर भीड नभएको ठाउँमा मात्र सपिङ गर्ने। 

७. ठूलोभन्दा सानो पसल रोजौं- सामान्यतया ठूलाठूला सपिङ मलमा सम्पूर्ण कुरा एकै ठाउँमा पाइने हुनाले धेरैको रोजाइ ठूला सपिङ मल हुने गर्दछ। तर अहिले यो अवस्था पहिलेको भन्दा धेरै फरक अवस्था हो। त्यसैले हामीले आफ्ना रुचि र इच्छालाई मारेर फरक जीवनशैली बाँच्नुपर्ने हुन्छ। ठूला पसलमा ठूलो भीड हुनसक्छ। ठूलो भीडमा कोरोना संक्रमणको पनि ठूलै जोखिम हुन्छ। त्यसैले साना भीड नहुने पसलमा सामान खरिद गर्नु धेरै बुद्धिमानी हुन्छ। ठूला सपिङ मलमा एउटै वस्तुलाई धेरै जनाले छोएको हुन सक्छ। यो समयमा धेरैले छोएको वस्तुमा संक्रमणको जोखिम पनि धेरै हुन्छ।

८. समय र स्थानको छनोट- कोरोना भाइरस श्वासप्रश्वासबाट सर्ने भएकोले मानिसको जमघट कम हुने स्थान र समयमा सपिङ गर्ने। साँझको समयमा धेरैजसो सपिङ गर्न निस्कने गरेको पाइन्छ। त्यसैले आफ्नो समय अनुसार भीड कम हुने स्थान र समयमा सपिङ गर्दा संक्रमणको जोखिम कम हुन्छ।

९. एउटै सामानको लागि धेरै समय नखर्चिने- कतिपयको बानी एउटै ब्राण्डको मात्र प्रयोग गर्ने हुन्छ। जसको लागि उनीहरु दिनभर उक्त सामग्री खरिद गर्न समय खर्चिरहेका हुन्छन्। तर यो अवस्थ्यामा त्यसरी एउटै वस्तुको लागि समय खेर फाल्नुभन्दा वैकल्पिक वस्तुको प्रयोग गर्नु बुद्धिमानी हुन्छ। 

१०. पसल-पसल नचाहर्ने- धेरैको बानी धेरै पसलमा सामानको मूल्य सोधेर मात्र खरिद गर्ने हुन्छ। तर वर्तमान समयमा यसरी धेरै पसल चाहार्नेलाई कोरोना संक्रमणको सम्भावना पनि धेरै नै रहन्छ। लत्ताकपडा किन्नुपर्दा धेरै पसलमा कपडा ट्राई गर्दै हिँड्दा संक्रमणको जोखिम उच्छ हुन्छ। 

११. खोजेकै सामान किन्न मरिहत्ते नगर्ने- आफूले खोजेको रङ, किसिम, प्रकार, डिजाइन खोज्दै पसलपसल हिंड्नुभन्दा सुरुमै पसेको पसलमा आफूले खोजेभन्दा फरक रङ र फरक डिजाइन भएको वस्तु पाइयो भने खरिद गर्नु अहिले अवस्थामा बुद्धिमानी हुन्छ। 

१२. साइबर सपिङ- वर्तमान अवस्थामा अनलाइन सपिङ र होम डेलिभरी गरेर आफूलाई चाहिले वस्तुको खरिद गर्दा संक्रमणको जोखिम न्यून हुन्छ।  

१३.  सामानको खोल फाल्ने- फुड स्ट्याण्डर्ड एजेन्सी (एफयसए) ले खाध्य सामग्री प्याकेजिङमा कोरोनाको जोखिम हुँदैन भनेको छ। तर उक्त प्याकेजिङ गरिएको वस्तु थुप्रै व्यक्तिहरुले छोएर पसलसम्म आइपुगेको हुन्छ। त्यसैले प्याकेजिङ गरिएको वस्तुलाई बाहिरको खोल झिकेर सुरक्षित ठाउँमा फाल्नुपर्छ। साबुन-पानीले हात धोएर उक्त सामानलाई घरभित्र लैजानु पर्छ। 

१४.  सुरक्षा घेरालाई नतोडौं- सामाजिक दूरी कायम गर्ने उद्देश्यले पसलमा सुरक्षाको लागि गोलाकार वा आयतकार घेरा बनाइएको हुन्छ। उक्त घेराभित्र रहेर सपिङ गर्ने बानी बसाल्नु पर्छ। सुरक्षा घेराको उचित प्रयोग गर्नुपर्छ।

१६. सपिङ सेन्टरका क्यारिएरको प्रयोग- ठूला सपिङ सेन्टरहरुमा सामान राख्ने क्यारिएर राखिएको हुन्छ। उक्त क्यारिएरले सामाजिक दूरी कायम राख्न मद्दत गर्छ। हरेकले आफ्नो अगाडि सपिङ क्यारिएर लिएर सपिङ गर्दा व्यक्तिगत दूरी कायम हुन्छ। तर क्यारिएरको ह्याण्डलमा भने स्यानिटाइज गर्नुपर्ने हुन्छ।  जसले संक्रमणको जोखिम न्यून गराउँछ।

१७. सपिङ गर्ने समय घटाउने-  ब्रिटिस सरकारले सामान खरिद गर्न जाने समय कम गर्न अनुरोध गरेको छ। जस्तो हप्तामा ३ पटक सपिङ गर्ने गरेको छ भने हप्ताको एक पटक मात्र गर्ने। बारम्बार घरबाट निस्केर पसल जानुभन्दा एकै पटक चाहिने सामान खरिद गरेर राख्ने। जुन सामग्री खरिद गर्न गएको हो, उक्त सामाग्री खरिद गरी फर्कने। 

१८. सामानको उचित प्रयोग- कुनै सामन खरिद गर्ने बित्तिकै प्रयोग हुने खालका हुन्छन् भने कुनै वस्तु केही दिनपछि प्रयोग गर्दा पनि हुन्छ। पछि प्रयोग गर्न मिल्ने वस्तुलाई सकिन्छ भने केही दिन घर बाहिरै राखेर मात्र घरभित्र लैजानु पर्छ।

१९. पैसाबाट भाइरस सर्ने सम्भावना- मेडस्केप र फ्युचर माइक्रोबायोलोजीमा उल्लेख गरे अनुसार पैसाबाट भाइरस सर्ने सम्भावना धेरै रहेको हुन्छ। नगद कारोबारपश्चात् पैसा लिने-दिने काम सकिएपछि ह्याण्ड स्यानिटाइजरले हात सफा गर्नुपर्छ। किनकी धेरैभन्दा धेरै व्यक्तिले उक्त पैसा छुँदै त्यहाँसम्म आएको हुन्छ।

२०. अनुहारमा हातले नछुने- सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) का अनुसार सुपरमार्केट वा ठूला सपिङ सेन्टरमा सामान खरिद गर्ने क्रममा अनुहारमा हातले छुनु हुँदैन। यदि छुनु नै पर्ने भएमा साबुन-पानीले हात धुने वा  ह्याण्ड स्यानिटाइजरले हात सफा गरेर मात्र छुने।

२१. रमाइलोको लागि सपिङ नगरौं- कतिपय व्यक्तिको रमाइलोका लागि सपिङ गर्ने बानी हुन्छ। यो कोरोनाको संकटको बेला रमाइलोको लागि फजुलको सपिङ गर्ने बानी त्याग्नु पर्छ। सपिङको लागि सपिङ नभई अत्यावश्यक साम्रगी खरिद गर्नको लागि मात्र सपिङ गर्नुपर्छ।

२२. जथाभावी नहिंड्ने- सपिङ गरिसकेपछि किनेको सामानको झोला जथाभावी जहाँ पायो त्यहीं नराख्ने। सकभर पसलबाट सामान किनिसकेपछि सिधै घरमा आउने। बिनाकाम हिँडडुल नगर्ने, नगराउने।

२३. मितव्ययिता अपनाउने- द क्यालभर्ट हेल्थ डिपार्टमेन्टले कोरोनाको समयमा वस्तु तथा सेवाको खरिदमा सीमितता र मितव्ययिता अपनाउन सुझाएको छ। एकातिर कोरोनाको कारणले धेरैको रोजगारी गुमेको अवस्था छ भने अर्कोतिर कलकारखाना बन्द रहनाले उत्पादन र आयात-निर्यातमा कमी भइरहेको छ। त्यसैकारण यो कोरोनाको संकटकालीन अवस्थामा सामान खरिद गर्दा मितव्ययिता अपनाउनुपर्छ।

कोरोना संक्रमणबाट जोगिन रहेक व्यक्तिले म आफैं संक्रमणबाट जोगिन्छु भन्ने संकल्प गर्दै घरबाट बाहिर निस्किँदा सावधानी र सजगता अपनाउनुपर्छ। अब कोरोनासँग भागेर होइन, सँगसँगै जिउन सिक्नुपर्छ। सावधानी, सजगता, सतर्कता, आत्मबल र धैर्यताले कोरोनालाई जित्नुपर्छ। स्रोेत- स्वास्थ्य खवर


प्रकाशित | १७ श्रावण २०७७, शनिबार १८:३४