पहिलो खेलमा इंग्ल्यान्ड विजयी

एजेन्सी – आयरल्याण्डविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा इंग्ल्यान्ड विजयी भएको छ । साउथह्याम्पटनमा बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले आयरल्याण्डलाई ६ विकेटले हराएको छ ।

आयरल्याण्डले दिएको १ सय ७३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २७ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्यान्डको जितमा साम बिलिङ्सले अविजित रहदै ६७ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गनले अविजित ३६ रन बनाए ।

यस्तै जेम्स भिन्सले २५ तथा जासन रोयले २४ रन बनाए । आयरल्याण्डका क्रेग योङले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ४४ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७२ रन बनाएको थियो ।

आयरल्याण्डका लागि कुर्टिस काम्फरले अविजित ५९ रन जोड्दा एन्डी मार्कब्रिनेले ४० रन बनाए । ग्यारेथ डेन्ली र केभिन ओ’ब्रायनले समान २२/२२ रन जोडे ।

इंग्ल्यान्डका डेभिड विलिले पाँच विकेट लिए । सकिब ममुदको नाममा २ विकेट रह्यो । जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दोस्रो खेल अगस्ट १ मा हुनेछ ।


प्रकाशित | १६ श्रावण २०७७, शुक्रबार ०९:०७