बेइजिङ्गमा बढ्यो कोरोना संक्रमितको संख्या, जनजिवन फेरी असहज, लकडाउन कठोरतापूर्बक लागू

काठमाडौं : चीनको राजधानी बेइजिङ्गमा कोभिड–१९ सङ्क्रमितको संख्या बढदै गएपछि लकडाउलाई थप कडाई गरिएको छ । बेइजिङ्गमा पछिल्लो पाँच दिनमा एकसय जनाभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोना भाइरसका नयाँ सङ्क्रमितको प्रकोप बेइजिङ्गको सिन्फाडीस्थित एक थोक बजारबाट आएको हुन सक्ने बताइएको छ । स्थानीय केही अधिकारीसँगै उक्त बजारको महाप्रबन्धकलाई बर्खास्त गरिएको छ ।

चिनियाँ रोग नियन्त्रण तथा उन्मूलन केन्द्रका प्रमुखले चीनभरि यसअघि फैलिएको भाइरसको आनुवाशिंक अनुक्रम नयाँको भन्दा फरक रहेको जानकारी दिनु भएको छ । विश्व स्वास्थ्य संगठनले उक्त भाइरसको आनुवाशिंक अनुक्रमबारे थप खुलाउन आग्रह गरेको छ ।

शनिबारदेखि नै सिन्फाडी बजार पूर्णरुपमा बन्द गरिएको छ । सोमबारसम्म बेइजिङ्गको दुई सय स्थलमा सङ्क्रमण परीक्षण कार्य सुरु गरिएको छ । मई महिनाको अन्त्यदेखि उक्त बजारमा किनमेल गरेका दुई लाख ब्यक्तिको पहिचान गरी परीक्षण गरिएको छ । स्वयंसेवी र सुरक्षाकर्मीले परीक्षणस्थल बनाएर स्थानीयको तापक्रम मापन गरेको छ ।

यसअघि बेइजिङ्गको पाँच स्थलमा गरिएको लकडाउनलाई बढाएर २१ टोलमा पुर्याइएको छ । अधिकांश विद्यालय र इन्डोर खेलकूदका गतिबिधिमा समेत रोक लगाइएको छ । बेइजिङ्ग सामान्य जिवनमा फर्किरहँदा भाइरसको दोस्रो प्रकोपले फेरी जनजिवन असहज बनाएको छ ।

बीबीसीका अनुसार करीब सात सातासम्म विदेशबाट आउनेमा मात्रै सङ्क्रमण पुष्टि हुँदै आएकोमा पछिल्लोपटक सङ्क्रमण स्थानीय बजारबाट सम्बन्धित रहेको पाइएपछि लकडाउन कठोरतापूर्बक लागू गरिएको छ ।


प्रकाशित | २ असार २०७७, मंगलवार १०:१५