धरहराको ११ औं तलाको काम सुरु गर्ने तयारी

काठमाण्डौ : संसदको विकास तथा प्रविधि समितिले पुनःनिर्माणको क्रममा रहेका पुरात्वात्तिक सम्पदाको स्थलगत अनुगमन गरेको छ । समितिले धरहरा, काष्ठमण्डप, रानीपोखरी र सिंहदरबार पुनर्निर्माणको अनुगमन गरेको हो । समिति सभापति कल्याणी खड्काले भूकम्प गएको लामो समयसम्म काम हुन नसके पनि पछिल्लो २ वर्षयता निर्माणको कामले गति लिएको बताउनुभयो ।

त्यस्तै, धरहरामा रोकिएको टावर निर्माणको काम दुई÷तीन दिनमा सुरु हुने भएको छ । लकडाउनका बेला धरहरामा टावरबाहेक अरु काम हुँदै आएकोमा झण्डै साढे तीन महिनापछि टावरको काम सुरु हुने भएको हो ।

धरहराको दशौं तलाको काम भने यसअघि नै सकिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको ३९ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो ।

दशौँ तलाको काम सकिएको धरहरामा अहिले पार्किङस्थलको काम भइरहेको र दैनिक ४० जना कामदारले काम गरिरहेका छन् । लकडाउनका बेला घर गएका १ सय १० जना कामदार अहिले काठमाण्डौ आएका छन् । उनीहरुको आज पीसीआर परीक्षण गर्ने तयारी छ । उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि मात्रै धरहराको ११ तलाको काम सुरु हुनेछ ।

धरहरामा अवलोकन कक्षका साथै म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्ट, अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ ।


प्रकाशित | ३० असार २०७७, मंगलवार १३:१९