सांसदलाई ल्याप्टप बाड्ने निर्णयप्रति रामकुमारी झाँक्रीको विरोध

काठमाडौं : नेकपाकी सांसद रामकुमारी झाँक्रीले सांसदहरुलाई ल्याप्टप बाड्ने संसद सचिवालयको निर्णयको विरोध जनाउनुएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै झाँक्रीले ‘सांसदलाई ल्याप्टप बाड्ने निर्णय भएको र टेण्डर आह्वान गरिएको कुराले चिन्तित तूल्याएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यस्तो कुरा सुन्दा मलाई दुःख लागेको छ, सांसदहरुलाई यस्ता खुद्रा मसिना कुराहरु बाँड्ने र हुर्मत लिने काम बेलाबखत भइरहेको छ। यसले सांसदलाई क्रमश जनतासँग अलग गर्ने र सांसदप्रति जनताको नकारात्मक भावना विकास भएको छ।’

सांसदलाई प्रविधिमैत्री बनाउने नाममा ल्याप्टप बाड्ने निर्णय आपत्तिजनक भएको समेत उहाँले बताउनुभयो । उहाँले कहिले ६ करोडको सांसद विकास कोषको नाममा त कहिले (२०५२ ) भन्सार छुटमा सांसदले गाडी ल्याउने कुरा तथा ल्याप्टप बाड्ने कार्यलेसंसदीय र प्रजातान्त्रिक व्यवस्थामै आँच आउने कुरा भएको बताउनुभयो ।


प्रकाशित | ३० जेष्ठ २०७६, बिहीबार १४:१८