दोलखा सुनखानीमा रहेको एकसय दुई झ्याले चौघराको मर्मत हुने

चरिकोट : सयौँ वर्ष पुरानो ऐतिहासिक महत्वको दोलखाको कालिञ्चोक गाउँपालिका–८ सुनखानीमा रहेको एक सय दुई झ्याले चौघराको मर्मत हुने भएको छ ।

भूकम्पबाट प्रभावित चौघराको संरक्षणका लागि पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोग तथा पुरातत्व विभागको प्राविधिक सहयोगमा मर्मत हुन लागेको गाउँपालिका उपाध्यक्ष कालिका पाठकले जानकारी दिनुभयो ।

२०५३ सालको पहिरोले क्षति पु¥याएको चौघरालाई २०७२ सालको विनाशकारी भूकम्पले झनै क्षति गरेको थियो । वि।सं १८४० मा निर्माण भएको विश्वास गरिने यो चौघरा जीर्ण बनेको वर्षौपछि बल्ल संरक्षणको अभियान सुरु गरिएको हो ।

प्राविधिक टोलीले चौघराको पहिलेकै स्वरुपमा राख्न सकिने उपायका विषयमा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने उपाध्यक्ष पाठकले जानकारी दिनुभयो ।

चौघरा सालका काठबाट निर्माण गरिएका १०२ कलात्मक झ्यालहरूका लागि प्रसिद्ध छ । यो पृथ्वीनारायण शाहको पालामा बनेको स्थानीय वृद्धवृद्धाहरूको कथन रहेको छ । कलात्मक चार घरहरू जोडेर बनाइएको हुनाले यसलाई चौघरा भनिएको हो ।

चौघराको बनावटलाई मल्लकालीन वास्तुकलाको विशिष्टता झल्कने कलात्मक शैली, तेलिया इँटा र सालको काठले थप आर्कषक देखिन्छ ।

यसको दक्षिणतर्फ विशाल २४ वटा बुट्टेदार थामहरू रहेका छन् । भित्री चोकमा २७ वटा थाम रहेका छन् । लम्बाइ र चौडाई नै ६० फिट रहेको वर्गाकार यस भवनमा ६० वटा कोठा रहेका छन् ।

भवनको एक कोठामा शिवाकोटीहरूको कुल पूजा गरिने, अर्को कोठामा भगवती पूजा गर्ने र अर्को एउटा कोठामा राजा वा वायुको पूजा गर्ने चलन आजसम्म रहेको बताइन्छ ।

ऐतिहासिक तथ्य तथा स्थानीयको भनाइ अनुसार गोवर्धन र महेश्वर नामका शिवाकोटीले यो भवन निर्माण गर्नु भएको मानिन्छ । यो समाचार आजको गोरखापत्र दैनीकमा प्रकाशित छ ।


प्रकाशित | २७ असार २०७७, शनिबार ०८:२७