सार्वजनिक सवारी साधन चल्न दिने सरकारको निर्णय

काठमाडौं : सरकारले सामाजिक दुरी कायम गरी एकै जिल्लामा सवारी साधन चल्न दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाका अनुसार मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

सरकारको निर्णयअनुसार काठमाडौं उपत्यकाको हकमा तीन जिल्लामा सवारी साधन चल्न पाउने छन् भने बाहिर सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउनेछन् ।

ट्याक्सीमा बढीमा दुई र परिवारका सदस्यहरुमात्रै बस्ने भए सिट क्षमता बमोजिम बस्न पाउने गरी खुकुलो गरिएको छ । त्यसैगरी, छोटो दूरीका सार्वजनिक यातायात सुरक्षा मापदण्ड पुरा गरेर सञ्चालन गर्न पाउने खतिवडाले जानकारी दिनुभयो ।

सरकारले सार्वजनिक यातायात सञ्चालनका लागि सिट क्षमताको पचास प्रतिशत मात्रै यात्रु बोक्न पाउने, प्रत्येक सबारीसाधनमा ‘सेनिटाइजर’ र यात्रुले माश्क लगाउनुपर्ने तथा चालकले पञ्जा र माश्क लगाउनुपर्ने मापदण्ड तोकेको छ ।

त्यसैगरी, एक पंक्तिमा एक यात्रु मात्रै बस्न पाउने मापदण्ड निर्धारण गरिएको छ । सार्वजनिक सबारीले यात्रुबाट अतिरिक्त पचास प्रतिशत भाडा लिन पाउने मन्त्री खतिवडाले बताउनुभयो ।


प्रकाशित | २५ असार २०७७, बिहीबार १७:४९