ऋण लिएर गाडी सञ्चालन गरेका ब्यवसायीले किस्ता तिर्न ताकेतापछि गाडीको चाबी नै बैङ्कलाई बुझाए

पोखरा : ऋण लिएर गाडी सञ्चालन गरेका यातायात व्यवसायी संकटमा परेका छन् । लामो समयदेखि जारी लकडाउन हुँदा अहिले यातायात ब्यवसायी अत्यन्तै संकटपूर्ण अवस्थामा पुगेका हुन । तर सरकारले यस्तो संकटमा पनि कुनै सम्बोधन नगरेको ब्यवसायीले गुनासो गरेका छन् ।

अहिलेको सङ्कटपूर्ण अवस्थामा समेत बैँक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि बारम्बार ताकेता हुन थालेको भन्दै ऋण लिँदा धितो राखेको गाडी नै बैंकलाई बुझाउने अभियानमा लागेका छन् । पोखरामा प्रधान कार्यालय रही देशभर सार्वजनिक यातायात चलाउँदै आएको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले गत सोमबारबाट चाबी बुझाउन शुरु गरेकामा बुधबार पोखरामा विभिन्न चार बैंकमा थप ६५ गाडीका चाबी बुझाएका छन् ।

मेगा बैंकमा १८, कामनामा १७, सिद्धार्थमा १४ र साङ्ग्रिला बैंकमा १६ गाडीको चाबी बुझाइएको .प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । यसअघि ९० गाडीको चाबी बुझाइएको थियो । व्यवसायीले अहिलेको विषम अवस्थामा किस्ता भुक्तानी गर्न नसकिने र न्यूनतम छ महिना म्याद थप गर्न सरकारसँग माग गरे पनि सुनुवाई नभएपछि गाडीको चाबी नै सम्बन्धित बैंकमा बुझाएर दबाब शुरु गरेका हुन् ।

आफूहरुसँग यसबाहेक अन्य कुनै पनि विकल्प नभएकाले बाध्य भएर ऋण लिँदा राखेको धितो बैंकलाई नै सुम्पनुपरेको गुनासो यातायात व्यवसायीको छ । सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको यातायात क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेकोे र विषम अवस्थामा समेत थप प्रताडित बन्नुपरेको अध्यक्ष केसी बताउनुहुन्छ ।

कतिपय बैंक तथा वित्तीय संस्थाले भने आर्थिक वर्षको अन्तिम असार मसान्तमा संस्थाको हिसाब मिलान गर्न ऋणीलाई ताकेता गर्ने गरिरहेका छन् । बैंकबाट ताकेता हुन थालेपछि व्यवसायी आन्दोलित भएका हुन् ।


प्रकाशित | २५ असार २०७७, बिहीबार ०९:४२