कोरोना संक्रमितले भरिए काठमाडौंका कोभिड अस्पताल

काठमाडौं : सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा मात्रै दैनिक सातदेखि १० जना भर्ना गर्नुपर्ने अवस्था छ । संक्रमित आउने, तर भर्ना गर्ने बेड नहुँदा समस्या आउने देखिएको छ । उपत्यकामा कोरोना संक्रमण बढ्ने देखिएको छ । कसरी आइसोलेसनको व्यवस्थापन गर्ने भन्नेमा कसैको पनि ध्यानभएको देखिएन ।

करिब दुई महिना खाली भएका काठमाडौं उपत्यकाका कोभिड अस्पताल फेरि भरिएका छन् । उपत्यकामा दैनिक कोरोना संक्रमित बढ्न थालेको एक हप्तामै कोभिड संक्रमितको उपचार गर्न तोकिएका तीन अस्पताल भरिएका हुन् ।

कोभिड उपचारका लागि सरकारले उपत्यकामा टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लेभल टु अस्पतालका रूपमा तोकेको छ । केही दिनयता उपत्यकामा कोभिड संक्रमित बढ्न थालेपछि तीन अस्पताल भरिएको जनाएको छ । टेकु अस्पतालका निर्देशक डा। सागर राजभण्डारीका अनुसार कोभिडका लागि तय भएका बेडहरू भरिएका छन् ।

सरकारले शंकास्पद व्यक्तिका लागि कीर्तिपुरको आयुर्वेद तालिम केन्द्र र भक्तपुरको खरिपाटी विद्युत् प्राधिकरणको तालिम केन्द्रमा एक हजार बेड क्षमताको आइसोलेसन कक्ष बनाउने तयारी गरेको थियो । तर, काम अघि नबढ्दा अब शंकास्पद व्यक्तिलाई राख्न कोभिड अस्पताललाई समस्या भएको छ । कोभिड चिकित्सक डा। अनुप बाँस्तोलाका अनुसार सरकारले शंकास्पद व्यक्तिको उचित व्यवस्थापनमा ध्यान नदिए गम्भीर समस्या आउनेछ ।

चिकित्सकहरूले उपत्यकामा हिँड्डुलमा लापरबाही भइरहेकाले जोखिमको चेतावनी दिँदै आएका छन् । झन् तीनवटै अस्पताल भरिएपछि चिकित्सक पनि तनावमा छन् ।

‘टेकुमा मात्रै दैनिक सातदेखि १० जना भर्ना गर्नुपर्ने अवस्था छ । संक्रमित आउने, तर भर्ना गर्ने बेड नहुँदा समस्या आउने देखिएको छ,’ डा। बाँस्तोलाले भने । अझ विदेशबाट ल्याएका मानिसलाई होटेलमा राखिएको बताए पनि कुन होटेलमा कसरी बसिरहेका छन् भन्ने कसैले ध्यान नदिएकाले जोखिम बढेको उनको भनाइ छ ।

टेकु अस्पतालमा आइसोलेसनका लागि एक सय बेड तय गरिएको भए पनि दूरी कायम गर्दा ३५ बेड मात्रै तयार भएका छन् । निर्देशक डा।राजभण्डारीका अनुसार आइसियू २० बेड, भेन्टिलेटर नौ, तालिमप्राप्त स्वास्थ्यकर्मी १० जना, एम्बुलेन्स एक, एक्सरे दुई र अत्याधुनिक सिटिस्क्यान एउटा छ । अहिले ३५ जना संक्रमितको उपचार भइरहेको छ भने सातजना आइसियूमा भर्ना भएका छन् ।

त्यस्तै, पाटन अस्पताललाई सरकारले सुरुवाती दिनबाट कोभिड अस्पताल अर्थात् लेभल टु अस्पतालका रूपमा सूचीकृत गरेको थियो । ६ सय बेड रहेको पाटनमा संक्रमितका लागि ४५ बेड आइसोलेसन, शंकास्पदका लागि १५ बेड आइसोलेसन र आइसियू २१ बेड गरी ८१ बेड छुट्याएको छ । त्यस्तै, भेन्टिलेटर १५ छन् । अस्पतालका डा। आशिष श्रेष्ठले ८१ मध्ये संक्रमितका लागि राखिएको ४५ बेडको आइसोलेसनमा ४९ जना भर्ना छन् ।

त्यस्तै, शंकास्पद व्यक्ति राख्न बनाइएको १५ बेडको आइसोलेसनमा दोब्बर संक्रमित राखिएको छ । एउटा रुममा दुईजना संक्रमित राखिएको डा. श्रेष्ठले बताए । सोमबार मात्रै ४९ जना संक्रमित भर्ना भएका छन् । संक्रमितमध्ये चारजनालाई आइसियूमा भर्ना गरिएको छ । बेड अभाव हुँदा केहीलाई इमर्जेन्सीमा राखिएको छ । क्षमताभन्दा बढी संक्रमित आएपछि अस्पतालले एक सय वार्ड कोभिडका लागि खोल्ने तयारी गरेको जनाएको छ ।

सोमबार मात्रै पाटन अस्पतालको ल्याबमा गरिएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको छ । ‘अब उनीहरूलाई कहाँ र कसरी राख्ने भन्नेमा हामी अन्योलमा छौँ,’ डा। श्रेष्ठले भने । पाटनमा ४० स्वास्थ्यकर्मी तालिमप्राप्त छन् भने कोभिडका लागि एक एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । अस्पतालमा चारवटा एक्सरे मेसिन, दुई सिटिस्क्यान र एक एमआरआई मेसिन रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सशस्त्र प्रहरी अस्पतालले एक सय २० बेड कोभिड बिरामीका लागि छुट्याएको छ । सोमबार साँझसम्म ६३ जना संक्रमित उपचाररत छन् । त्यस्तै, २० जना शंकास्पद व्यक्ति आइसोलेसनमा छन् । अस्पतालका अनुसार कोभिडका लागि २० बेड आइसियू र १० वटा भेन्टिलेटर तयारी अवस्थामा छन् । आठ स्वास्थ्यकर्मी तालिमप्राप्त रहेका छन् । सशस्त्र प्रहरी अस्पतालले तीन एम्बुलेन्स तयारी राखेको छ । त्यस्तै, दुइटा एक्सरे मेसिन र एउटा एमआरआई मेसिन सञ्चालनमा छ । यसैगरी, काठमाडौं मेडिकल कलेजको भक्तपुरस्थित दुवाकोट अस्पताल १५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

लकडाउन खुकुलो भएसँगै टेकु अस्पतालमा मात्रै दैनिक एक हजार मानिस कोरोना परीक्षणका लागि आउने गरेका छन् । ‘उनीहरूको कसरी व्यवस्थापन गर्ने भन्नेमा राज्यले नै सोचेको छैन,’ डा। बाँस्तोला भन्छन् । होटेल र घरमा क्वारेन्टाइनमा बसेका व्यक्तिको कसैले थाहा नपाउने गरी तरकारी किन्नेदेखि विभिन्न नाममा खुला रूपमा बाहिर निस्किने गरेको र कतिपय जबर्जस्ती घर जाँदा त्यहाँ पोजेटिभ देखिएको उनले बताए । ‘उपत्यकामा केस बढ्ने देखिएको छ । कसरी आइसोलेसनको व्यवस्थापन गर्ने भन्नेमा कसैको पनि ध्यान भएको देखिएन,’ डा।बाँस्तोलाले भने, ‘व्यवस्थित आइसोलेसनदेखि अटोमेटिक कार्डको व्यवस्था नभए लक्षणविहीन संक्रमितले अन्य कैयौँलाई सार्नेछन् ।’ यो समाचार आजको नयाँ पत्रीका दैनीकमा अर्जुन अधिकारीले लेखेका छन् ।


प्रकाशित | २४ असार २०७७, बुधबार ०७:३६