नेमारलाई क्याम्प नोउमा ल्याउने अन्तिम तयारीमा अध्यक्ष बार्टोमेउ

एजेन्सी : बार्सिलोना आफ्ना पूर्वस्टार नेमारलाई फेरि टिममा फर्काउन हरसम्भव प्रयास गरिरहेको छ । तर, २०१७ मा विश्वको सबैभन्दा महंगो खेलाडी बन्दै २२२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजी गएका नेमारलाई ल्याउन त्यति सजिलो छैन ।

बार्साले एन्टोइन ग्रिजम्यान र फ्रेङ्की डि योङलाई अनुबन्ध गर्दा यो सिजनको अधिकांश ट्रान्सफर बजेट खर्चिसकेको छ । त्यसैले युरोपियन फुटबल संघको ‘फाइनान्सियल फेयरप्ले पोलिसी’ उल्लंघन नगरी नेमारलाई भित्र्याउन उसले थप पैसा जम्मा गर्नुपर्नेछ । जसको एकमात्र विकल्प खेलाडी बेच्नुमात्र हो ।

बार्सिलोनाले यसअघि नै फिलिपे काउटिन्हो, माल्कोम र राफिन्हा अलाकान्टारालाई बेच्ने मनसाय देखाउँदै ट्रान्सफर प्रस्तावमाथि विचार गरिरहेको छ ।

आवश्यकता परेको खण्डमा बार्सा इभान राकिटिच, स्यामुएल उम्टिटी र आर्टुरो भिडाललाई पनि बेच्न तयार छ । तर, सकेसम्म यी ३ खेलाडीलाई नबेची नेमार भित्र्याउन बार्साको प्रयास जारी छ ।

ग्रिजम्यान र डि योङको ट्रान्सफरका कारण नेमारलाई अनुबन्ध गर्न बार्साले जारी ट्रान्सफर मार्केटमा खेलाडी बेचेर कम्तिमा पनि २५० मिलियन युरो जम्मा गर्न जरुरी छ । जसकारण पिएसजीबाट नेमारलाई ल्याउन बार्सा पैसा खर्चिने भन्दापनि ३ जना खेलाडी दिन चाहन्छ ।

बार्सा नेमारलाई ल्याउन ६ खेलाडीमध्ये जुनसुकै ३ खेलाडी पिएसजीलाई दिएर पैसा थप्न पनि तयार छ । पिएसजी त्यसका लागि तयार नभएमा ६ जना खेलाडी बेचेर नेमारलाई क्याम्प नोउमा ल्याउने तयारीमा अध्यक्ष बार्टोमेउ लागिरहेका छन् ।


प्रकाशित | ९ श्रावण २०७६, बिहीबार २०:३७