जेट एयरकाे सेवा बन्द भएसँगै काठमाडाैं-दिल्ली हवाई टिकट पाउन मुस्किल

काठमाडाैं : आर्थिक संकटग्रस्त जेट एयरले काठमाडौंको आफ्नो उडान बन्द गरेसँगै काठमाडौं-दिल्लीको भाडामा अस्वाभाविक वृद्धि भएको छ । उपलब्ध सिट संख्यााको तुलनामा माग अत्याधिक बढेपछि काठमाडौं-दिल्ली उडान गर्ने हवाई सेवा कम्पनीहरुले उडान भाडामा ३ सय प्रतिशतसम्म वृद्धि गरेका हुन् ।

जेट एयरले आफ्नो नेपाल उडान बन्द गरेसँगै यात्रुहरुले मागअनुसार वायु सेवा कम्पनीले सिट उपलब्ध गराउन नसक्दा मूल्य बढेको अर्बिट इन्टरनेसनल ट्राभल्सका द्रोण निरौलाले बताए । जेट एयरले काठमाडौं-दिल्ली चारवटा उडान गरेर दैनिक साढे ६ सय यात्रुलाई सेवा दिन्थ्यो । जेटको सेवा बन्द भएसँगै ती यात्रु अन्य विमानसेवाबाट यात्रा गर्नुपर्दा टिकटको माग ह्वात्तै बढेको व्यवसायी निरौलाले बताए ।

सामान्य अवस्थामा नेपाल वायु सेवा निगमको काठमाडाैं-दिल्ली दोहोरो भाडा सबैभन्दा सस्तो १५ हजार रुपैयाँमा पाइन्थ्यो । तर, अहिले ४२ हजारदेखि ४५ हजार पुगेको छ । त्यसैगरी एयर इन्डियाको उडानमा पनि एकातर्फी हवाई भाडा २७ हजारभन्दा बढी पुगेको छ । यो समाचार दिवाकर पन्तले नयाँ पत्रिकामा लेखेका छन् ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार ०७:४०