नेकपा स्थायी कमिटी बैठक २४ गतेका लागि सारियो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही २४ असार (बुधबार) सम्मका लागि स्थगित भएको हो। नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार यसअघि यही २० असारलाई बोलाइएको बैठक आजसम्म स्थगन गरिएकामा पुनः बुधबारसम्म स्थगन गरिएको हो ।

दुई अध्यक्षबीच हाल उत्पन्न गतिरोधलाई कम गर्न पहल भई रहेका बेला आजको बैठक सारिएको बताइएको छ । सहमतिको खाका तयार गर्न आइतबारको बैठकले चार सदस्यीय अनौपचारिक कार्यदल गठन गरेको थियो । सो कार्यदलले तयार गर्ने मस्यौदाका आधारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमतिको प्रयास गरिने बताइएको छ ।

कार्यदललाई सहमतिको दस्तावेज मस्यौदा गर्न समय लाग्ने भएपछि थप दुई दिन स्थायी कमिटी बैठक स्थगित गरिएको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । कार्यदलमा महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, उर्जामन्त्री वर्षमान पुन र स्थायी कमिटी सदस्य जनार्दन शर्मा रहनुभएको छ ।


प्रकाशित | २२ असार २०७७, सोमबार ११:१८