यू १९ विश्वकप छनोटमा नेपालको दोस्रो जीत : मलेसिया आठ विकेटले पराजित

एजेन्सी :  नेपालले आईसीसी यू १९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको तेस्रो खेलमा मलेसियामाथि सहज जित हात पारेको छ । नेपाल ८ विकेटले विजयी भएको छ । सामान्य ९३ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनाउँदै पुरा गर्यो । नेपालको सहज जितमा ओपनर रित गौतमले ४५ बलमा ५ चौका प्रहार गर्दै ३९ रनमा अविजित रहे । छक्का हान्दै खेल जिताएका कप्तान रोहित कुमार पौडेल १ बलमा ६ रनमा अविजित रहे । पवन सरार्फले १४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रनमा आउट भए । आशिफ शेखले १८ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २६ रनमा आउट भए । मलेसियाका लागि अफीक सयाकीर र स्युक्री मडेलीले समान १ विकेट लिए ।

त्यसअघि क्वालालाम्पुरमा टस हारेर ब्याटिङ थालेको मलेसियाले ३३।५ ओभरमा अल आउट हुँदै ९२ रनमा समेटिएको थियो । मलेसियाका लागि इज्जत ड्यानियल फिक्रीले सर्वाधिक ३७ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । कुशल मल्लले २१ ओभरको चौथो बलमा क्याच गराउनु अघि ड्यानियलले ५५ बलमा ३ चौका र १ छक्का प्रहार गरे । नेपाली बलरको कसिलो बलिङ सामु मलेसियाका ८ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पहिलो ओभरको तेस्रो बलमै कमलसिंह ऐरीले ओपनर असलम खानलाई हरि बहादुर चौहानबाट शून्यमा क्याच गराए । ऐरीलेनै पाँचौ ओभरको दोस्रो बलमा अर्का ओपनर वान रुमीरुललाई रित गौतमबाट ७ रनमा क्याच गराउँदै पेभिलिएन फर्काए । कप्तान मोहम्मद अमिरलाई १३ ओभरको पहिलो बलमा पवन सरार्फले १३ रनमा बोल्ड आउट गरे । १७ ओभरको अन्तिम बलमा विजयी उन्निलाई ४ रनमा कुशल मल्ले एलीवी डब्लू धराप पारेपछि मलेसियाको विकेट निरन्तर गुमि रह्यो ।

मलेसियालाई सस्तैमा पवन सरार्फले ८।५ ओभरमा १ मेडन १३ सहित रन खर्चेर ३ विकेट लिए । त्यस्तै कुशल मल्लले ८ ओभरमा २ मेडन सहित २० रन खर्चेर ३,कमलसिंह ऐरी २ र सागर ढकालले १ विकेट हात पारे ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनले फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा यूएईसँग १ रनले पराजित भएपछि नेपालको विश्वपको यात्रा कठिन बनेको छ । नेपाल बाँकी दुबै खेलमा फराकिलो अन्तरले विजयी भए र यूएई सिंगापुर र ओमान मध्य एक टोलीसँग पराजित भएको खण्डमा मात्र नेपाल विश्वकप खेल्न पाउने छ । नेपालले आफ्नो चौथो खेल मंंगलबार ओमानसँग खेल्ने छ ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार ११:२२