प्रचण्डलाई शेखरको प्रश्न : कांग्रेसलाई ५८५ पालिका दिन सक्नुहुन्छ ?

पोखरा- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिलेको गठबन्धनसँग चुनावी तालमेल हुन नसक्ने बताउनु भएको छ । विचार नै नमिल्ने पार्टीहरूबीच गठबन्धन भएकोले नतिजा सोचेजस्तो नआउने भन्दै कोइरालाले चुनावी गठबन्धन नहुने बताउनु भएको हो ।

‘निर्णय कार्यान्वयन गर्न अत्यन्तै गाह्रो छ । विचारै नमिल्ने पार्टीसँग तालमेल गरेर जानुपरेको छ । गर्ने त भनिदियो तर कसरी ?’, उहाँले भन्नु भयो, ‘अघिल्लो पटक जुन जुन पार्टीले जितेको छ, त्यो ठाउँमा सोही पार्टीलाई दिने र एमालेले जितेको ठाउँमा दोस्रो पार्टीलाई दिने प्रस्ताव प्रचण्डजीले गर्नु भो । पाँच सय ८५ पालिका कांग्रेसलाई दिन सक्नुहुन्छ ?’

प्रचण्डले भरतपुरलाई मात्रै हेरेर गठबन्धन प्रस्ताव गरेको उहाँको आरोप छ । ‘तीन सय १९ पालिकामा हामी दोस्रो भएका छौं । दुई सय ६६ मा हामी पहिलो भएका छौं । पहिलो र दोस्रोसहित लिँदा कांग्रेसको भागमा पाँच सय ८५ पालिका पर्छ । भरतपुरलाई दिमागमा राखेर मात्रै बहस भैरहेको छ,’ कोइराला भन्नुहुन्छ ।


प्रकाशित | २० चैत्र २०७८, आईतवार १७:११