लकडाउनका कारण नेपालको पर्यटन क्षेत्रमा अहिलेसम्म ३४ अर्बको नोक्सानी

काठमाडौँ : कोभिड– १९ सङ्क्रमण रोकथामका लागि जारी लकडाउनका कारण नेपालको पर्यटन क्षेत्रमा अहिलेसम्म ३४ अर्ब रुपियाँ बराबरको नोक्सान भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार लकडाउनका समयमा सम्पादन गरेका कामको सार्वजनिक कार्यक्रममा चैत ११ गतेदेखि अहिलेसम्म सो बराबरको नोक्सान भएको हो । यो नोक्सानी साउन ७ गतेसम्म पुग्दा थप सात अर्ब बढ्ने अनुमान पनि मन्त्रालयको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार नेपालको पर्यटन उद्योगमा १० खर्ब रुपियाँभन्दा बढी लगानी छ । यो क्षेत्रले साढे दुई लाखलाई प्रत्यक्ष र करिब आठ लाखलाई अप्रत्यक्ष रोजगारी पनि दिएको छ, उहाँले भन्नुभयो, कोभिडका कारण यति धेरैको रोजगारी खोसिएको छ । सरकारले नेपाल पर्यटन बोर्ड र नागरिक उड्डयन प्राधिकरणबाट यस क्षेत्रको नोक्सानीको मूल्याङ्कन गर्न समिति गठन गरेको थियो ।

पर्यटन क्षेत्रले व्यहोर्नु परेको क्षति न्यूनीकरण गर्न सरकारले बजेटमार्फत ५० अर्ब र एक खर्बको कोष ल्याएको मन्त्री भट्टराईले बताउनुभयो । त्यस्तै उहाँले पर्यटन क्षेत्रलाई छिट्टै सञ्चालनमा ल्याउनुपर्छ भन्नेमा आफू सकारात्मक रहेको पनि जानकारी दिनुभयो । ‘स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर होटल सञ्चालनका लागि तयार गरिएको प्राटोकललाई मानेर पर्यटन क्षेत्र खोल्न सकिन्छ’, उहाँले भन्नुभयो ।


प्रकाशित | २० असार २०७७, शनिबार १३:५८