कालापानी निरीक्षणमा प्रधानसेनापति थापा र सशस्त्र आईजीपी दार्चुला पुगे

काठमाडौं : नेपाल भारतको सीमा क्षेत्र दार्चुलाको कालापानी निरीक्षण भ्रमणमा गएका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनाल दार्चुला पुग्नुभएको छ ।

सो टोलीसँगै नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तम सुवेदीसमेत दार्चुला पुग्नुभएको छ । आज बिहान साढे ७ बजे सेनाको स्काई ट्रकमार्फत् प्रधानसेनापति थापा र आइजीपी खनाल धनगढी पुगेको र त्यहाँबाट हेलिकोप्टरमार्फत् दार्चुला पुगेको जनाइएको छ ।

भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि सिर्जना भएको आक्रोशका बीच कालापानी नजिकै सेनाले खडा गरेको अस्थायी क्याम्प र छाङ्रुमा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी)को निरीक्षण गर्ने उहाँहरुको तयारी छ ।

अहिले छाङरुमा सशस्त्र प्रहरी भाडाको घरमा बसिरहेको छ भने स्थायी संरचना पनि बनाउने तयारी छ । सेनाले छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक बनाउँदैछ । त्यसअघि सर्वसाधारणका लागि छाङरुसम्म पुग्ने बाटोका लागि घाँटी बगरमा ट्याक खोल्ने काम अहिले सेनाले गरिररहेको छ ।


प्रकाशित | ३ असार २०७७, बुधबार १२:२०