‘प्रचण्ड’सहितका शीर्ष नेताहरूले मागे प्रधानमन्त्री ओलीको राजीनामा, निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरेको दाबी

काठमाडौं : नेकपाको स्थायी कमिटी बैठकमा नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । आफूलाई हटाउन भारतको राज्यसंयन्त्रदेखि दूतावास र नेपालकै नेताहरू लागेको अभिव्यक्तिबारे प्रमाणसहित जवाफ माग गर्दै प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन् ।

केहि दिनअघि प्रधानमन्त्री ओलीले दिल्ली र नेपालका केही शक्तिले आफूलाई हटाउने षड्यन्त्र गरेको बताउनुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको कुरा निकै गम्भीर रहेको भन्दै आजको बैठकमा सदस्यहरुले त्यसको सत्य तथ्य बताउन माग गरेका हुन् । प्रचण्डसहित चार नेताहरूले राजीनामा मागेपछि केहीबेर ओलीले प्रस्टीकरण राख्नुभएको थियो ।

बैठकमा अर्का अध्यक्ष प्रचण्डले दिल्लीले भनेको कुरा आफूलाई थाहा नभएको तर पार्टी र सरकार ठिक ढङ्गले सञ्चालन नभएकाले आफूले नै प्रधानमन्त्रीको राजीनामा मागेको बताउनुभयो । उहाँले दुई तिहाइको सरकार हुँदा पनि नागरिकले परिवर्तन अनुभुति गर्न नपाएको र पार्टीमा पनि ओली दम्भ देखिएकोले अब राजीनामा नै उत्तम विकल्प भएको बताएको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।

त्यस्तै, दुई दिनअघि निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गराएको प्रसङ्ग पनि उठान गर्नुभएको छ । ‘मदन भण्डारीको जन्मजयन्तीको दिन प्रधानमन्त्रीले देशी विदेशी शक्तिले हटाउन खोजेको तथा दुई दिनअघि निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराएको विषय प्रचण्डले प्रवेश गराएपछि बैठक त्यसैमा केन्द्रित भयो,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि भन्नुभयो ।

त्यस्तै, नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको दाबी पनि गर्नुभएको छ । पार्टीको स्थायी कमिटी बैठकमा मंगलबार उपाध्यक्ष गौतमले छानबिन भए त्यसका लागि प्रमाण दिन आफू तयार रहेको बताउनुभयो ।

शतप्रतिशत केपी ओलीकै निर्देशनमा नेकपा एमाले दर्ता भएको बताउँदै आवश्यक परे प्रमाण दिन र उनीहरूलाई बयान दिन तयार रहेको भनाइ राख्नुभएको थियो ।


प्रकाशित | १६ असार २०७७, मंगलवार २०:२६