एसीसी यु–१६ पूर्वी क्षेत्रिय क्रिकेट : फाईनल पुग्न नेपाललाई ८७ रनको सामान्य लक्ष्य

काठमाडौं : एसीसी यु–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको फाईनल प्रवेशका लागि हङकङले नेपाल सामु ८७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । थाइल्याण्डको चियाङमाईमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ३३ ओभरमा अलआउट हुँदै मात्र ८६ रन बनायो । नेपालको कसिलो बलिङ सामु हङकङको ईनिङ्स निरिह रह्यो ।

आरुष भगतले नटआउट ४३ रन बनाउनु बाहेक हङकङका कुनै खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालका निखिलकुमार सिंहले ४ तथा विशालकुमार पटेल, रमेश कुर्मीले समान २ विकेट लिए । तिलक राज भण्डारीले एक विकेट आफ्नो नाममा लेखाए । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले हङकङलाई सहजै हराउने अनुमान गरिएको छ । समूह चरणमा ३ खेलबाट ५ अंक जोडेर नेपाल समूह विजेता बनेको थियो ।

नेपालले पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक थाइल्याण्डसंग १/१ अंक बाडेको थियो । बर्षाको कारण खेल रद्द भएपछि नेपाल र थाइल्याण्डले अंक बाडेको हो । यता समूह ‘बी’ मा रहेको हङकङले ३ खेलबाट ३ अंक जोडेर उपविजेता बन्दै नेपालसंगको भेट पक्का गरेको थियो ।

हङकङले नेपाललाई अहिलेसम्म हराउन सकेको छैन । पछिल्लो दुई भेटमा नेपालले दुवै खेलमा जित निकालेको छ । प्रतियोगिता अन्तर्गत नै अर्को सेमिफाइनलमा समूह ‘बी’ को विजेता सिंगापुरले समूह ‘ए’ को उपविजेता मलेसियासंग प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित | १४ बैशाख २०७६, शनिबार १२:०८