यू-१९ विश्वकप छनोट : ओमानमाथि नेपालको फराकिलो जित

एजेन्सी : नेपालले आईसीसी यू १९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको चौथो खेलमा ओमानलाई १ सय ५० रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको ओमान ४४।१ ओभरमा अल आउट हुँदै ७९ रनमा समेटियो । ओमानका लागि अमनप्रित सिराह र जिल तन्नाले समान १३ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । नेपाली बलरको कसिलो बलिङ सामु ओमानका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसकि पेभिलिएन फर्के ।

११ औं ओभरको चौथो बलमा एडील अब्बासलाई ८ रनमा पवन सरार्फले भिम सार्कीबाट क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाए । अब्बास आउट भएसँगै ओमानको निरन्तर विकेट गुमि रह्यो । १२ औं ओभरको तेस्रो बलमा कुशल मल्लले अजाम अलीलाई ८ रनमा बोल्ड आउट गरे । १३ औं ओभरको पाँचौ बलमा नेभ पोजरीलाई पवन सरार्फले १ रनमा पेभिलिएन फर्काए ।

भिमले १६ औं ओभरको चौथो बलमा कप्तान प्रथमेश कुम्बलेलाई सन्दीप जोराबाट ५ रनमा आउट गरेपछि नेपालको फराकिलो निश्चित बनेको थियो । नवौं विकेटका लागि अमनप्रित सिराह र जिल तन्नाले १९ रनको साझेदारी गर्दै हारको अन्तर घटाए ।

ओमानमा यस मेहता ३,अमनप्रित सिराह ८,मुजाहिर राजा शुन्य,जोइल बिजु ५,अर्जुन सरिथा ८ र सन्जय रविन्द्र २ रनमा आउट भए ।

नेपाललाई फराकिलो जित दिलाउन पवन सरार्फले १० ओभरमा २ मेडन सहित २४ रन खर्चेर ३ विकेट लिए । प्रतिस जिसी र सुर्य तामाङको नाममा समान दुई विकेट रह्यो । त्यस्तै कमलसिंह ऐरी,कुशल मल्ल र भिम सार्कीले समान १ विकेट लिए ।

त्यस अघि क्वालालाम्पुरमा टस हारेर ब्याटिङ थालेको नेपाल ४३।२ ओभरमा अल आउट हुँदै २ सय २९ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ८१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ७५ रनको महत्वपूर्ण योगदान दिए । रोहितलाई ३५ ओभरको पाँचौ बलमा आजम अलीले मेहताबाट क्याच गराए । त्यस्तै भिम सार्कीले ४३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बटुले । कुनै समय ८१ – ५ को कमजोर अवस्थामा पुगेको नेपाललाई रोहित र भिमले छैटौैं विकेटका लागि ९२ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।

नेपाललाई बलियो अवस्थामा पुर्याउन प्रतिस जिसीले आक्रमक ब्याटिङ गरे । प्रतिसले २३ बलमा २ चौका र ४ छक्का सहित ४१ रन बटुलेपछि नेपालले बलियो योगफल तयार पार्न सफल भएको थियो । अन्तिम विकेटका लागि प्रतिस र सुर्य तामाङले ५१ रनको साझेदारी गरे । सुर्य तामाङ ७ रनमा अविजित रहे ।

दोस्रो ओभरको अन्तिम बलमा मुजाहिर राजाले पवन सरार्फलाई ५ रनमा एलवी डब्लू आउट गरे । ९ औं ओभरको पहिलो बलमा यस मेहताले रित गौतमलाई १० रनमा क्याच आउट गराए । १६ औं ओभरमो चौथो बलमा रविन्द्रले अभिषेक बस्नेतलाई १५ रनमा बोल्ड आउट गरे । १९ औं ओभरको दोस्रोे बलमा प्रथमेश कुम्बलेले सन्दीप जोरालाई मेहताबाट क्याच गराउँदै ४ रनमा पेभिलिएन फकाए ।
२० औं ओभरको अन्तिम बलमा रविन्द्रले हरि वहादुर चौहानलाई २ रनमा क्याच आउट गराएपछि नेपाल ८१ – ५ को कमजोर अवस्थामा पुगेको थियो । कुशल मल्ल २,कमलसिंह ऐरी १ रनमा आउट भए । ओमानका जिल तन्ना,आजम अली, सन्जय रविन्द्र र मुजाहिर राजाले समान दुई विकेट लिए । त्यस्तै यस मेहता र प्रथमेश कुम्बले नाममा समान १ विकेट रह्यो ।

पहिलो खेलमा नेपालले सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दा दोस्रो खेलमा युएईसँग १ रनले पराजित भएको थियो । तेस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको नेपालले आफ्नो अन्तिम खेल विहिवार कुवेतसँग खेल्ने छ । बिहिवारनै यूएई र ओमान भिड्ने छन् । ओमान विजयी भएको खण्डमा नेट रन रेटले यूएई लाईपछि पार्दै नेपाल विश्वकपको लागि छनोट हुन सक्ने अंकगणीतिय संभावना रहेको छ ।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार १४:४४