पाइपमै अड्कियो ४५६ मेगावाट

दोलखा: माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत्गृहभित्रका टर्वाइनसहित उपकरण जडान भएको झण्डै एक वर्ष पूरा हुन लागेको छ । विद्युत्गृहभित्रका विद्युत् उत्पादनका लागि आवश्यक टर्वाइन, जेनेरेटर, एमएसओभी लगायतका सबै सामान कम्प्युटर प्रणाली समेत जडान गरी सुक्खा परीक्षण भएको पनि १० महिना पूरा भएको छ ।

हेडवक्र्सबाट पानी आएको भए यी जडान भएका उपकरणबाट अहिलेसम्म ८ अर्ब बढीको विद्युत् उत्पादन भइसक्थ्यो । यी सबै उपकरण पानीकै प्रतीक्षामा छन् । जडान भएका उपकरणमा खिया नलागोस् भनेर दैनिक एक पटक तेल हालेर तताउने गरिएको छ । यो समाचार कारोबार दैनीकमा दिल बहादुर केसीले लेखेका छन् ।

जलविद्युत् आयोजनामा विद्युत् उत्पादनका लागि बाँधबाट नदी फर्काएर पोखरीमा हालेर बालुवा थिग्र्याएपछि सुरुङको माध्यमबाट विद्युत् गृहसम्म पठाइन्छ । यो आयोजनाको बाँधस्थल लामाबगरदेखि विद्युत् गृह गोगरसम्म ८ किलोमिटर मुख्य सुरुङ बनेको छ । विद्युत् गृहसम्म पुग्न ३७३ मिटरको तल्लो र ३१० मिटरको माथिल्लो २ वटा ठाडो सुरुङ समेत छन् ।

विद्युत् गृहका ६ वटा युनिटसम्म पानी पु¥याउँन ठाडो सुरुङसहित ठाडो सुरुङ छेऊमा कमजोर ठाउँ समेत गरी ९ सय मिटर पेनस्टक पाइप जडान गर्नु पर्छ । यही मार्गबाट आएको पानीबाट घुमेका उपकरणबाट विद्युत् निस्केपछि ३ किलोमिटर टेलरेस सुरुङमार्फत पानी पुनः नदीमै मिसिन्छ ।

उत्पादित विद्युत् ४७ किलोमिटर लामो २२० केभीको प्रसारणलाइनमार्फत खिम्तीमा जोडिन्छ । नदी फर्काउनेदेखि विद्युत् गृहसम्मका सबैकाम पूरा भएका छन् । तर त्यही ठाडो सुरुङको पाइपमै ४५६ मेगावाट विद्युत् अड्किएको छ । पाइप जडानकै ढिलाइकै कारण विद्युत् गृहसम्म पानी ल्याउन नसकेको आयोजनाका प्रवक्ता डा। गणेश न्यौपानेले बताए ।

लामो समयको अड्चनपछि ४ महिना अघि पेन स्टक पाइप जडानको काम सुरु भयो । तल्लो खण्ड अष्ट्रियन कम्पनी एन्द्रिज हाइड्रो र माथिल्लो खण्डको लट २ को हाइड्रोमेकानिकलको ठेक्का भारतीय कम्पनी टेक्सम्याको रेल्वे एण्ड इजिनियरिङले गरिरहेको छ । तर ४ महिनाको अवधीमा तल्लो खण्डको एक सय मिटर पाइप जडान पूरा भएको छ भने माथिल्लो खण्डको साढे २२ मिटरमा मात्र भएको छ ।

एन्द्रिजको कामको गतिलाई हेर्दा आयोजनाले अन्तिम लक्षित गरेको समय चैतमा विजुली बल्ने आशा गर्न सकिने अवस्था रहेको प्रवक्ता न्यौपानेले बताए । तर टेक्सम्याकोको कामको गति उस्तै रहे तोकिएको समयको लक्ष्य भेट्न गाह्रो छ । यसरी कामको गति हेर्दा टेक्सम्याकोको प्रति महिना प्रगति ५ मिटर मात्रै छ भने एन्द्रिजको ५ गुना बढी अर्थात २५ मिटरको रहेको छ ।

आयोजनाको लट २ को हाइड्रोमेकानिकलको ठेक्का भारतीय कम्पनी टेक्सम्याको रेल्वे एण्ड इजिनियरिङले पाएको थियो । उसको काम हाइड्रोमेकानिकल तर्फको पेनस्टक पाइप र बाँधका गेटहरूको डिजाइन, उत्पादन, ढुवानी र जडानसम्मको हो । तर अहिलेसम्म केही पाइप ढुवानी बाँकी नै छ ।

पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल ९लट ३०को ठेकेदार एन्ड्रिजलाई दिइएको छ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच १० महिनाअघि ९गत २३ पुस०मा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो ।

तल्लो खण्डको तुलनामा माथिल्लो खण्डको काम पनि सहज छ । तल्लो पाइप २७ टन क्षमताको ५ मिटर लम्बाइको छ । तर माथिल्लो पाइप साढे २ मिटर लम्बाइको ९ टनको मात्र छ । तल्लो खण्डको तुलनामा माथिल्लो खण्डको पाइपको मोटाइ पातलो भएकाले जडान समेत चाँडो हुन्छ । यस आधारमा पाइप जडानमा समेत तल्लोभन्दा माथिल्लो ढुवानी र जडान समय पनि कम हुनुपर्नेमा नतिजा उल्टो भएको आयोजनाका उपप्रबन्धक पूर्णगोपाल रञ्जितले बताए ।

दुई वर्षदेखि टेक्सम्याकोको उच्च व्यवस्थापनसँग पटक पटक बैठक समेत गरेको छ । तर व्यवस्थापन अत्यन्तै कमजोर भएका कारण कामले गति लिन नसकेको उनले बताए । पछिल्लो समय दुवै सुरुङमा १०(१० मिटर बनाएर पाइप जडान र कंक्रिट गर्न थालेको प्रवक्ता न्यौपानेले बताए । यसबाट कामको गति अझ बढ्ने विश्वास गरे । आन्तरिक समस्या समाधान भएकाले टेक्सम्याकोको कामको गति पनि बढ्ने उनले विश्वास गरे ।

पेनस्टक पाइप जडानमै ढिलाइ भएपछि उर्जा मन्त्रालयले पनि चासो दिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं आयोजनास्थल आएर ठेकेदार र परामर्शदातासँग हरेक महिना बैठक गर्दै आएका छन् । आयोजना ढिलाइ हुँदा लागत बढेर व्याजसमेत दोब्बर भइसकेको छ । लगानीकर्ताले प्रतिफल पाउने समय धकेलिएको छ ।


प्रकाशित | ५ कार्तिक २०७६, मंगलवार १०:२१