कोरोना उपचारमा १० अर्ब खर्च, अनुमानभन्दा ३ अर्ब बढी सकियो

काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले १० अर्ब रूपैयाँ खर्च गरिसकेको जनाएको छ । कोरोना नियन्त्रण उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा यो रकम खर्च भएको सरकारको भनाइ छ ।

यो रकम केन्द्र एउटैले मात्र गरेको खर्च विवरण भने होइन । केन्द्र, प्रदेश र स्थानीय सरकारबाट ४ महिनायता भएको खर्चको एकमुष्ट विवरण हो । खर्च भएको रकममध्ये केन्द्रीय सरकारबाट ६ अर्ब ३ करोड, सातै वटा प्रदेश सरकारबाट १ अर्ब ८ करोड र स्थानीय तहबाट २ अर्ब ७६ करोड रूपैयाँ रहेको जनाइएको छ । केही स्थानीय तहले गरेको खर्च विवरण केन्द्रमा आइनपुगेकाले यो खर्चमा नजोडिएको पनि उल्लेख छ ।

केन्द्र सरकारले विनियोजन गरेको बजेट, कोरोना कोषको रकम, प्रदेश सरकार र स्थानीय सरकारको बजेटबाट ९ अर्ब ८७ करोड रूपैयाँ खर्च भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए । ‘अहिलेसम्म कुल ९ अर्ब ८७ करोड रूपैयाँ खर्च भइसकेको छ, यसमा केही स्थानीय तहले गरेको खर्च विवरण आइनपुगेकाले जोडिएको छैन, त्यसमा केही थप हुन सक्छ,’ सचिव बिडारीले भने, ‘यसमा राष्ट्रिय संघसंस्था, दातृ निकायका अन्तर्राष्ट्रिय सहयोग पनि प्राप्त भएको छ। सार्वजनिक गरिएको खर्च विवरणमा त्यो जोडिएको छैन ।’आजको अन्नपूर्ण पोष्टबाट


प्रकाशित | २२ जेष्ठ २०७७, बिहीबार ०७:०१