विदेशबाट २७ हजार बढी नेपालीको उद्धार

कठमाडौं : भारतबाहेक अन्य मुलुकबाट हालसम्म २७ हजार १२५ जनाको उद्धार गरिएको छ । साथै विदेशमा निधन भएका १६० जना नेपालीको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जनाएअनुसार हिजो मात्र ५९३ जना नेपाली स्वदेश फर्किएका छन् । हिजो नेपाल फर्कनेमा मलेसियाबाट १७, सिङ्गापुर र अस्ट्रेलियाबाट ५१, युएईबाट २ सय ८४ र कतारबाट १४१ जना छन् ।

त्यसैगरी विदेशमा कोरोना भाइरसको सङ्क्रमणमा परेका नेपाली नागरिकमध्ये ९२ प्रतिशत सङ्क्रमणमुक्त भएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ ।

नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घको पहलमा विभिन्न २३ मुलुकमा समस्यामा परेका, भीसाको समय सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काइएको हो ।

यसै अवधिमा १६० जनाको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । विदेशमा विभिन्न कारणले ज्यान गुमाएका ४ सय ६ जनामध्ये १४६ जनाको परिवारको सहमतिमा उतै अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १०९ वटा शव नेपाल ल्याउन बाँकी छ ।


प्रकाशित | १ श्रावण २०७७, बिहीबार ११:२९